काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरि पनि अध्यक्ष केपी शर्मा ओलीकै परीफेरीमा रुमलिन पुगेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ओलीलाई कमाण्डर साथै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर एमाले चुनावी मैदानमा होमिएको छ । काठमाडौंमा शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई चुनावी कमाण्डर बनाउँदै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको हो ।
त्यति मात्र होइन आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फको टिकट वितरण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय भइसकेको छ । यसर्थ ओली पार्टीभित्र सर्वशक्तिमान देखिएका छन् । तर भावी प्रधानमन्त्री ओलीका लागि त्यति सजिलो भने छैन । राजनीतिक विश्लेषकहरुले भावी प्रधानमन्त्री बन्न ओलीलाई सजिलो देखेका छैनन् । दुईतिहाइ जनमतको अवमूल्यन गरेर दुई–दुईपटक संसद् विघटन गर्दै देशलाई अस्थिरतातर्फ लगेको भन्दै उनको आलोचना अझै जारी छ ।
आगामी निर्वाचनमा बहुमत पुग्ने संभावना पनि देखिदैन । त्यसैले ओलीका लागि प्रधानमन्त्री सजिलो छैन् । राजनीतिक विश्लेषक लाओस राई भन्छन्,‘ओलीलाई चुनावी कमाण्डर बनाउनु अनुचित नहोला तर भावी प्रधानमन्त्री कै रुपमा अघि सार्नु चाहीं ‘आकाशको फल, आँखातरी मर’ भनेजस्तो मात्र हो । किनकी उनले ब्यक्त गर्ने हावादारी मन्तब्य, दुई पटक संसद विघटन र युवा पुस्तालाई अवसर दिन नसक्नु दुर्भाग्य हुन जान्छ ।’
स्थानीय निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको एमालेले पार्टी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने र स्थानीय निर्वाचनको भन्दा १६ प्रतिशत मत बढाएर बहुमत हासिल गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । ओलीलाई राष्ट्रवादी, देशभक्ति र सर्वमान्य नेताका रुपमा एमाले कार्यकर्ताहरुले स्वीकारेका छन् । तर प्रतिस्पर्धीहरु पाँच दलीय गठबन्धनमा रहेकाले एमालेका लागि चुनाव जित्न सहज देखिदैन ।
एमाले पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक विशाल भट्टराईले मुलुक कसरी अघि बढाउने भन्ने विषयमा अध्यक्ष ओलीले स्पष्ट खाका अघि सारेकाले प्रधानमन्त्रीका रुपमा अघि सारिएको प्रतिक्रिया दिएका छन् । पाँच बर्षका लागि म्यान्डेट लिएर आएका ओलीलाई अदालतले हटाएकाले अब स्पष्ट खाकासहित पुनः प्रश्तत हुनुभएकाले प्रधानमन्त्रीका रुपमा उभ्याइएको भट्टराईको भनाइ छ । हुनत ओलीलाई कमान्डर मात्र होइन भावी प्रधानमन्त्रीका रुपमा अघि बढाउँदा एमालेको भोट बढ्ने अनुमान पनि गरिएको छ । तर ओलीलाई ब्यक्तिगत रुपमै अघि बढाइएकोमा केही नेताहरुले असन्तुष्टी पनि जनाएका छन् । केही एमाले नेताहरुले कम्युनिस्ट पार्टी व्यक्तिकेन्द्रित हुन नसक्ने बताउँदै समाजवादी शक्तिलाई सशक्त बनाउनुपर्नेमा स्पष्ट छन् ।
२०७२ र २०७४ सालमा दुई पटक प्रधानमन्त्री बनेका ओलीलाई एमालेले पुनः प्रधानमन्त्रीका रुपमा अघि बढाउँदा भावी प्रधानमन्त्रीका रुपमा देखिएका सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेललगायतका नेताहरुलाई असर पर्ने देखिएको छ । प्रधानमन्त्रीको पालो कुरिरहेका अन्य नेताहरुको राजनीतिक भविष्य ओझेल पर्ने देखिएको छ । त्यतिमात्र होइन २०७२ मा संविधान जारी भएलगत्तै भारतले गरेको नाकाबन्दीको विरोध गरेपछि लोकप्रिय भएका ओलीका लागि पुनः पुरानै लोकप्रियता कायम रहनेमा नेताहरु विश्वस्त छैनन् ।
त्यतिमात्र नभइ हालै संसदबाट पारित भएको नागरिकता विधेयकप्रति असन्तुष्टी जनाउँदा तराई–मधेशका जनता ओलीप्रति निराश भएको, प्रतिनिधिसभा विघटन गरेको, सत्तामा रहँदा प्रतिगमनकारी काम गरेको, भारतीय खुफिया एजेन्सीसँग बालुवाटारको अपारदर्शी बैठक गरेकोलगायतका प्रसंगहरु ओलीका लागि घातक हुने निश्चित छ । चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बन्छु भन्ने ओलीको चाहना पार्टीका लागि प्रत्युत्पादक बन्ने खतरा बढेर गएको छ ।