काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरीको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिले गिरीको निधन भएको विज्ञप्तिमार्फत जनाएको छ ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० मा निधन भएको कांग्रेसले जनाएको छ। घाँटीको क्यान्सरबाट पीडित गिरीको छातीमा निमोनियाको संक्रमण भएको थियो । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
नेता गिरीमा निमोनिया बढेको र यसले शरीरका अधिकांश अंगहरु फेल भइरहेको शनिबार दिउँसो उनकी धर्मपत्नी भारती सिलवालले विज्ञप्तिमार्फत जनाएकी थिइन । गिरीलाई स्वासप्रस्वास प्रक्रिया सहज बनाउन बिहिबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको थियो ।
गिरीको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालमै श्रद्धान्जलीका लागि राखिने जनाइएको छ । ११ः३० देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ ।
गिरि आफनो सैध्दान्तिक निष्ठा, सन्तुलित विचार र देशभक्तिका कारण जनताका बीच अत्यधिक लोकप्रिय थिए । बरिष्ठ पत्रकार किशोर नेपालले गिरीका बारेमा लेखेका छन्, ‘लोकतान्त्रिक समाजवादी चिन्तन र सैध्दान्तिक दृष्टिकोणको अनुगामी बनेर उहाँका सुस्पष्ट राजनीतिक बिचारको कार्यान्वयनगर्नु आजको नेपाली समाजको आबश्यकता हो । देशलाइै आमूल परिवर्तनको नयाँ बाटोमा हिंडाउन खोजी रहेका नेपालका तन्नेरी पुस्ताले प्रदीप गिरिका बिचारहरुको अध्ययन र अनुशीलनगर्नु समीचीन हुनेछ ।’