April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पाँचथरमा दुग्ध किसानको लाखौं रुपैयाँ भुक्तानी नदिई डेरी व्यवसायी सम्पर्कविहीन

2K

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका छन् । कृषक तथा वसायीहरुलाई लाखौं रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् ।

सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले वताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोवाइल स्वीचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन् । हमालले फिदिम नगरपालिका वडा नं. २, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका वडा नं. १, ३, ४ लगायत वडाका सयौं कृषकहरुको दूध सङ्कलन गरी घ्यू र छुर्पी उत्पादन गर्दै आएका थिए । उत्पादित दूग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा विक्री गर्दथे ।

महेन्द्र हमालले डेरी उद्योग संचालनका लागि लिएको दर्ता प्रमाण पत्र ।

कृषकहरुबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री फिदिममा विक्री गरी रु. ६५ लाख कृषकलाई वितरण गर्न भनि लगेपछि उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजाल लगायतले प्रहरी उजुरी दिएका हुन् । हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप रु. १६ लाख, अन्य व्यवसायी तथा कृषकहरुबाट समेत लाखौं रुपैयाँ लिई हमाल भएको निवेदकहरुले जनाएका छन् । व्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएका छन् ।

Advertisement

व्यवसायी हमाल फरार भएको भनि प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुआत गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बर समेत लिएको पाइएको हो । कृषकहरुले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा व्यवसाय सुरुवात गरेको छोटो समय भएतापनि स्थानीय डेरीमा विक्री हुनेभन्दा बढी रकम दिने आश्वासन दिई हमालले दूध सकलन गरिरहेका थिए ।