April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

ताप्लेजुङमा पहिरोका कारणा ६३ घर विस्थापित, घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल लगियो

2.8K

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुँदा पहिरो जाने क्रम रोकिएको छैन। ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्।

सिरिजंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बुद्धि दाहालका अनुसार पहिरोको त्रासका कारण ६३ परिवारले बासस्थान छाडेका छन्। पहिरोका डरले लत्ताकपडा, खाद्यान्न र चौपाया लिएर सुरक्षित स्थानमा स्थानीयहरू गएको वडा अध्यक्ष दाहाललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

‘वडा अध्यक्षज्यूले मंगलबार दिउँसो ६३ घरपरिवार पूर्णरूपमा विस्थापित भएको जानकारी दिनुभएको छ। विस्थापित परिवारको यकिन विवरण संकलन गर्न, उनीहरूलाई राहत तथा पुनः स्थापनाका लागि प्रहरीको टोली पहिरो प्रभावित क्षेत्रमा पुगिसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले भने।

Advertisement

सोमबार बेलुका गएको पहिरोमा परेर एक जना घाइते भएका छन्। पहिरोमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पाँचथर लगिएको राईले बताएका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले सोमबार बेलुका पहिरो जाँदा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएको पुष्टि गरेका छन्। लिम्बूसहित दुई जना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पुर्‍याइएको उनले जानकारी दिए। घाइतेको फिदिम अस्पतालमा उपचार भइरहेको छ।

विस्थापितलाई मंगलबार दिउँसो सेनाको हेलिकप्टरले पाल, कम्बल, चामल लगायत खाद्य सामग्री पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।

‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भने, ‘हिजो बेलुका मामांखेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौं। तत्काललाई यसले राहत पुग्ने छ।’

विस्थापित परिवारलाई स्थानीय गणेश माध्यमिक विद्यालयमा राखिएको छ। केहीले आफन्तकोमा आश्रय लिएका छन्। प्रहरीका अनुसार अहिले पनि पहिरो प्रभावित क्षेत्रमा वर्षा भइरहेको छ।