November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पशुपतिनाथमा भोलिदेखि दर्शन गर्न पाइने

2.6K

काठमाडौं – पशुपतिनाथ मन्दिरमा आज बिहान ९ बजेदेखि क्षमा पूजा शुरू हुने भएको छ। पशुपति क्षेत्र विकास कोषले कोरोना भाइरस त्रासका कारण १० महिनासम्म मन्दिर बन्द रहेकोले क्षमा पूजा गरी खुलाउने तयारी गरेको हो।

आज क्षमा पूजा गरी बुधबार बिहान ६ बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपतिक्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाले जानकारी दिए।

स्वास्थ्य, सुरक्षा र सजगताका विधि अपनाएर पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खोल्न लागिएको उनले बताए। उनका अनुसार मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ।

Advertisement

भक्तजनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड प्रोटोकल पूर्णरूपमा पालना गर्नुपर्नेछ भने मन्दिर प्रवेश गर्नुअघी अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। उनका अनुसार मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

‘महामारीको सङ्कटबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्द रहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ,’ थापाले भने।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागेको उनले जानकारी दिए। यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए।