April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अफ्रिकामा खोप व्यवस्थापनका लागि मास्टरकार्ड फाउन्डेसनको सहयोग

4.7K

काठमाडौं– अफ्रिकी मुलुकमा कोभिड–१९ को खोप व्यवस्थापनका लागि मास्टरकार्ड फाउन्डेसनले एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने गरी व्यवस्थापन गर्न लागेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनबाट व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाइ भोगिरहेको अफ्रिकालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। समयमै खोप लगाउन नसके अफ्रिकामा कोभिड–१९ को तेस्रो लहर आउने अनुमान गरिएको समाचारहरुमा  उल्लेख छ। 

फाउन्डेसनले छुट मूल्यमा जोन्सन एन्ड जोन्सनबाट खोप खरिद गर्ने योजना बनाएको छ। खोप खरिदका लागि जोन्सन कम्पनीसँग अफ्रिकी युनियनले मध्यस्थता गर्दै छ।

Advertisement

जोन्सनले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरिसकेको बताइएको छ। आगामी अगस्ट महिनाभित्रै जोन्सनको खोप उपलब्ध हुने विश्वास युनियनको छ।

विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको भोलिपल्टै क्यानाडाको टोरन्टोस्थित मास्टरकार्ड फाउन्डेसनले रकम व्यवस्था गर्न लागेको घोषणा गरेको हो।

अफ्रिकामा हाल कोभिड–१९ को खोपको आपूर्ति लगभग ठप्प छ। खोपको अभाव हुनुको मुख्य कारण भारतले सेरम इन्स्टिच्युटबाट उत्पादन गरिएको खोप निकासीमा प्रतिबन्ध लगाउनु भएको समाचारहरुमा उल्लेख छ।

अफ्रिकी संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (अफ्रिकी सिडीसी) ले युनियनमा आबद्ध ५५ अफ्रिकी मुलुकमा उक्त खोप समानुपातिक रुपमा वितरण गर्नेछ।