April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

3.2K

नाइजेरिया- नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन्। रातिको समयमा उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए।

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ। ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए।

सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ। त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए। गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ।

Advertisement

शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झडप पनि भएको थियो। यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। तर  पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन। सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए। त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ।