April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रकसहित तस्करीको चिनी बरामद

7.6K

विराटनगर । मोरङको रंगेली नगरपालिका – ५ धनापट्टीदेखि सशस्त्र प्रहरीले तस्करीको चिनी र ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनी सहित ट्रक नियन्त्रणमा लिएको हो ।

बिओपी रंगेलीका सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेलीको धनापट्टी टोलदेखि को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २/२ बोरा चामल र गुहँ बिलबिजक नभएको अवैध सामान बरामद गरेको हो ।

तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरि ल्याएको चिनी र खाद्यबस्तु धनापट्टीमा ल्याएर राखेका थिए । त्यसपछि मोरङको उत्तरी क्षेत्रको राजमार्ग साइटको बजारमा तस्करीको चिनी र खाद्यबस्तु लैजान लागेको अवस्थमा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको बुझिएको छ । तस्करीको चिनी बजार पठाउन गिरोहले निक्कै चलाखी गरेको पाइएको छ । ‘ट्रकको माथिबाट धानको भुस राखेका थिए । त्यसको मुनी तस्करीको चिनी र खाद्यबस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने ।

Advertisement

सशस्त्र प्रहरीले बरामद गरेको चिनी, खाद्यबस्तु र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ । सशस्त्र प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिएपछि चालक फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य तिव्र बनाएको छ ।


रंगेलीको चोपडा नाकादेखि यसअघि पनि सशस्त्र प्रहरीले एक ट्याक्टर भारततर्फ तस्करी हुन लागेको हरियो मटर बरामद गरेको थियो । प्रहरीले बरामद गरेको मटर चोपडाका व्यापारी राजेश साहको रहेको थियो ।