November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अष्ट्रियाबासी नेपालीहरुको सहयोग

7.2K

– साबित्रा दहाल भट्टराई, झापा


धुर्मुस-सुन्तली फाउण्डेसनको अगुवाईमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्न निर्माण सहयोग समिति अष्ट्रियाले भर्चुअल माध्यमबाट एक कार्यक्रम आयोजना गरी रकम हस्तान्तरण गर्यो ।

रङ्गशाला निर्माणमा केही आर्थिक सहयोग पुगोस् र विश्वभरी छरिएर रहेका नेपालीहरुलाई सहयोग गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता रङ्गशाला निर्माण सहयोग समिति अष्ट्रियाका संयोजक ध्रुव पौडेलले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएका अष्ट्रियाका लागि नेपालका कार्यवहाक राजदुत इला मैनालीले, सिताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस-सुन्तली फाउण्डेसनको माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै अष्ट्रियाबाट सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई धन्यवाद दिनुभयो ।

Advertisement

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै हास्य कलाकार धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला निर्माणको अभियान केवल धुर्मुस सुन्तलीको मात्र नभएर राष्ट्रकै अभियान भएको र देश विदेश रहनु भएका सहयोगी मनहरुको अभियान रहेको बताउनु भयो । उहाँले यस अभियानको सञ्चालन आफूले कुनै मान पदवीको आशाले गरेको नभई एउटा असल नागरिकको हैसियतले उक्त अभियानको सञ्चालन गरेको बताउनु भयो । उहाँले यस रङ्गशालामा नेपालका ७७ वटै जिल्लाको कला संस्कृति झल्कने प्रतिक राखिने बताउनु भयो । आज विश्वभर नेपालीहरुले खेलको माध्यमबाट देशको पहिचान गराई रहँदा राज्यले खेल र खेलाडीहरुलाई प्राथमिकतामा नराखेकोले आफूले यो प्रयास गर्नुपरेको जिकिर गर्नुभयो ।

विश्व इतिहासमा एउटा छुट्टै पहिचान रहेको जनस्तरबाट निर्माण भइरहेको नेपालको पहिलो गौरवशाली ठूलो परियोजनाका रुपमा परिचित यो रंगशालामा ३० हजार दर्शक अटाउने क्षमता रहेको र विश्वस्तरको उदघाटन खेल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न सकिने ७७ वटै जिल्लाबाट प्राप्त रकमबाट ७७ वटै कक्षको निर्माण भईरहेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनु भयो । उहाँले ७ वटा प्रदेशको प्रतिनिधित्व गर्ने ७ वटा द्वारबाट कमलको फूल झल्काउने प्रतिक बनाईने र निर्माण कार्यमा १ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने छ भने ५० हजार भन्दा बढी रकम सहयोग गर्ने दाताको नाम शिलालेखमा राखिने बताउनु भयो ।

धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाका परियोजना प्रबन्धक जनार्दन शर्माले कोरोना कहर, दशै तिहार, चाड पर्व केही नभनी रात दिन विना रकम काम अघि बढाएको र उक्त कार्यमा सिताराम कट्टेलको हिम्मत तथा साहासको उच्च सम्मान व्यक्त गर्दै उक्त रङ्गशाला निर्माणको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा अतिथिका रुपमा धुर्मुस-सुन्तली फाउण्डेसनका सेक्रेटरी संगीता तिमल्सिना , गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको परियोजना प्रवन्धक जनार्दन शर्मा लगायत निर्माणधिन रङ्गशालासँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विकास कार्की, दिपेन्द्र हिमालयन कार्की , भवानी तिवारी, मनोज बिष्ट ,भुपेन्द्र गुरुङ , दिपक मल्ल ,इन्द्र छन्त्याल र प्रदिप ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संगीतकार तथा गायक शेखर लामाले ”बनेको छ पहराले यो छाती मेरो” गीत गाउनु भएको थियो ।

यूवाको आस्थाको प्रतिक विकास प्रेमी राष्ट्रभक्त नागरिकका रुपमा परिचित नेपालका एक चर्चित कलाकार र कमोडियन सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले शुरु गर्नु भएको यो उदाहरणीय कार्यको विदेशी स्तरमा रहेका नेपालीहरुले समेत साथ सहयोग र हौसला प्रदान गर्ने अभियानका अभियन्ता भवानी तिवारीले बताउनु भयो । विश्वलाई नै कोरोनाले आक्रान्त पारेको बेला पनि विदेशमा दुःख गरेर कमाएको केही पारिश्रमिक अष्ट्रियाका विभिन्न शहरबाट १९ जना अभियन्ताहरुको सक्रियतामा जम्मा भएको रकम रु ७,४९,७४८/८० ( सात लाख उनन्चास हजार सात सय अठ्तालिस रुपैयाँ अस्सी पैसा ) सहयोग रकम जम्मा गरेको जनाउनु भयो ।

श्रव्य दृश्यहरु समेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन शुभद्रा थापा भण्डारी र मनि थेवेले गर्नुभएको थियो भने स्वागत मन्तव्य पासाङ ल्हमु शेर्पाले गर्नुभएको थियो ।