April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

युराेकप : इटालीकाे लगातार दाेस्राे जित, अन्तिम १६ मा प्रवेश

1.4K

काठमाडाैं- उपाधि दाबेदार इटाली युराेकप २०२० मा लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे।

ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए। १९औं मिनेटमा कप्तान जर्जियो  किएलिनीले गोल गरेका थिए। गाेलकाे खुसियाली मनाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएन।

लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए। उक्त बल नियन्त्रण गर्नेक्रममा उनको हातमा लागेकाे थियाे।

Advertisement

२६औं मिनेटमा इटालीले अग्रता लियो। डोमेनिको बेरार्डीको कटब्याकमा अनमार्क रहेका लोकाटेलीले ६ यार्डबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे। 

५२औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले ठम्याउन सकेनन्।

६४औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माकाे प्रहार स्टिभन जुबरको विफल पारिदिए। लगत्तै काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार आकासिएकाे थियाे।

७५औं मिनेटमा फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै  इम्मोबिलेले गरेको प्रहारले पोस्टको दिशा लिएन। ८९औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए। उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार सिधै गाेलमा परिणत भएकाे थियाे।

जितसँगै इटालीको अपराजित यात्रा २९ खेलमा लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ। वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ। स्विट्जरल्यान्डको १ अंक छ। इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ। त्यस्तै, स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ।

त्यसअघि समूह ‘ए’ कै खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो।