विद्यालयमा पढ्दाताकै राजनीतिमा सक्रिय भएका सरोज बस्नेत भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् । उनले २०५५ सालमा निमावी तह अध्ययनरत छँदादेखि नै नेविसंघको सदस्यता लिएका थिए । माध्यमिक तहमा पुगेपछि नेविसंघको क्षेत्रीय प्रतिनिधि भएका थिए । २०५८ सालदेखि क्याम्पस अध्ययन गर्न थालेपछि झनै सक्रिय भएर नेविसंघमा क्रियाशिल भए । २०६१ सालमा तरुण दलको सचिव, २०६९ सालमा अध्यक्षहुँदै नेपाली काँग्रेसको १४औं अधिवेशनमा पार्टीको क्षेत्रीय प्रतिनिधि हुँदै अहिले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनै अध्यक्ष सरोज बस्नेतसँग नेपाल मामिला डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष निर्वाचित बन्नुभएको छ, यो अवसर हो कि चुनौती ?
दुवै हो । विशेष गरी चुनौतीको रुपमा लिएको छु ।
तपाइँको ‘एक्सन’ सुरु भइसक्यो, अबको ५ वर्षमा टेम्के मयुङलाई कस्तो अवस्थामा देख्न सकिएला ?
भर्खरै गाउँसभा सम्पन्न गरी बजेट पास गरेका छौं । विशेष कृषि र पर्यटनमा आधारित योजनाहरू अघि सारेका छौं । आउने ५ वर्ष भित्र केही न केही परिणाम देखिने गरी नयाँ ढंगबाट काम गर्नका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । त्यसभित्र एक घर एक करेसाबारी, खाने तेलमा आत्मनिर्भरता लगायतका नीति तथा कार्यक्रमहरू रहेका छन् ।
पर्यटन प्रर्वद्धनका लागि अघि सारिएका योजनाहरूमा केके पर्दछन् ?
टेम्के मयुङ गाउँपालिकाभित्र आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि पर्यटक क्षेत्रको सय गन्तव्यभित्र परेको पदमार्गलाई व्यवस्थित गर्ने योजना छ । प्राकृतिक हिसाबले त छँदैछ, सांस्कृतिक रुपले पनि पर्यटन प्रवर्दन गर्ने धारणाका साथ अगाडि बढेका छौं । यहाँको संस्कार संस्कृतिलाई जोगाउने, पुरातात्विक महत्व बोकेको संरचनाहरूलाई संरक्षण गर्ने, पुरातात्विक महत्व बोकेको संग्राहलय स्थापना, संकलन र विकास गर्ने, साथै प्रचारप्रसार र डकुमेन्ट्रीको लागि बजेट विनियोजन गरिसकेको हुँदा त्यो काम पनि चाँडै गर्ने छौं ।
तपाँई लाल किल्ला तोडेर अध्यक्ष बन्नुभएको छ, काम गर्न कतिको सहज छ ?
टेम्के मयुङ राजनीतिक चेत भएको गाउँपालिका हो । राजनीतिक उच्च ओहदासम्म पुग्ने व्यक्तिहरूको थलो हो । राजनीति बुझेकै ठाउँ छ । नराम्रो काम गर्ने मेरो उदेश्य छैन, राम्रो काममा सहयोग पाएकै छु । सामाजिक या राजनीतिक दुवै हिसाबले सहजै छ ।
अघिल्लो नेतृत्वले सुरुवात गरेको कामलाई नै थप्दै लैजानुभयो कि नयाँ योजनाहरू सुरु गर्नुभयो ?
अघिल्लो कार्यकालको नेतृत्वले अघि सारेका योजनाहरूलाई नै आत्मसाथ गरेर अघि बढेको छौं । केहि त्रुटिहरूलाई भने समाधान गर्दै अगाडि लैजादै छौं ।
त्रुटिहरू केके थिए ?
मुख्य त जथाभावी सडकहरू खनिएको छ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने छ । धरै सडक खनिएको कारण बाढीपहिरो विपद निम्त्याउन सक्ने देखिएको हुँदा व्यवस्थित गर्नु छ ।
यसअघिको सरकारले कति प्रतिशत विकासका काम गरेका रहेछन्, अब कति प्रतिशत काम गर्न बाँकी देखिन्छ ?
पर्यटनको क्षेत्रको काम बाँकी नै । केहि काम सरकारसँगको साझदारीमा गरिएको छ । मलाई लाग्छ, ६० प्रतिशन नै काम बाँकी छ ।
खाली पर्यटनको बारे मात्रै योजना बनाए जस्तो देखियो, बाँकी योजनाहरू छैनन् ?
हैन, विशेष गरी हाम्रो योजना कृषिमा छ । दोस्रोमा पर्यटन हो । अघि नै भनेँ, ‘एक घर एक करेसाबारी’को धारणा छ । जस अन्तर्गत तोरी, सर्स्युँ, सुर्यमुखी तेलको उत्पादन गर्ने, फलफूल, कागती, ड्रागन फुड आदिको उत्पादनबाट आत्मनिर्भर बनाउने कार्यक्रम अगाडि सारेका छौं । अहिले हामीसँग पालिकाको भवन छैन, भवन निर्माण कसरी गर्ने भन्ने छलफलमै छौं । यस विषयमा संघ र प्रदेशमा पनि कुरा उठान गरी बजेट माग गर्ने छलफलमा छौं । कोल्ड स्टोर बनाउनका लागि तयारी गरिरहेका छौं, सडकहरूको विषयमा पनि हामी पालिकादेखि वडासम्म जोडिने मूल सडकहरू बाह्रै महिना संचालन हुने गरी ५ वर्ष भित्र बनाउने योजना छ । भौगोलिक विकटताका कारण स्वास्थ्यमा केहि समस्या छ । अति विकट भएको ठाउँमा अस्थाइ स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिसकेको छौं । ती ठाउँहरूमा औषधी समयमा आइपुग्दैन भन्ने गुनासाहरू छन्, अब औषधी अभाव नहुने गरी लागि परेका छौं । ६० वर्र्ष माथिका बृद्धहरूलाई घरघरमा गई प्रत्येक ६ महिनामा स्वास्थ्य जाँच गर्ने योजना बनाएका छौं ।
तेल उत्पपादनको प्रसंग आयो, यो व्यक्तिगत प्रयोजनको लागि मात्रै हो कि, बजारसम्म पुग्छ ?
सुर्यमुखी, सर्स्युँ र तोरीको तेल तत्काललाई आत्मनिर्भताको लागि मात्रै हो । टेम्के मयुङका जनताहरूले बाहिरबाट तेल भित्राउन नपरोस् भन्नका लागि । त्यसपछि भने यसलाई व्यवसायिक बनाउने योजना छ ।
कृषिकै प्रसंगमा टेम्के मयुङमा रासायनिक मलको प्रयोग गरिदैन भन्ने सुनियो, प्रयोग गर्दा र नगर्दा उत्पादनमा केहि फरक पाइन्छ ?
हजुर, ५०/५० हो । आधा भुभागमा प्रयोग हुन्छ आधामा हुँदैन । भौगोलिक हिसाबले लेक र वेशी पर्ने हुँदा वेशीतिर प्राय प्रयोग हुन्छ, करिब बीचभागदेखि माथि अर्गानिक छ । आगामी योजनाबाट हामी युरिया मललाई कटौती गरी प्राङ्गारिक मल बनाउनेबारे प्रशिक्षण दिन बजेट छुट्याएका छौं । रासायनिक मलले बिस्तारै माटोमा समस्या आउदै जाने हुँदा विस्तारै हामी प्राङ्गरिक मललाई नै प्राथमिकता दिने तयारीमा छौं । उत्पादनको हिसाबले पनि खासै त्यस्तो फरक पाइएको छैन ।
स्वास्थ्यको प्रशंगमा जाऔंः कहिलेकाहिँ तत्कालै सघन उपचार गर्नुपर्ने अवस्था आउन सक्छ, यस्तो अवस्थामा गाउँपालिकाले कस्तो सुविधा दिएको छ ?
त्यस किसिमको अवस्था आए सर्वप्रथम त घरको आर्थिक अवस्था हेरी यातायात खर्चको व्यावस्था गरी तत्काल सुविधासम्पन्न अस्पतालमा पठाउने काम गर्छौं । अहिलेसम्म गाउँपालिकाको एम्बुलेन्स छैन, आउने क्रममा छ । अहिलेको परियोजनामा राखेका छौं । त्यसपछि अवस्था हेरी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेछौं ।
चखेवा भन्ज्याङ्बारे तपाइँको योजना के छ ?
‘चखेवा’ खोटाङको साकेला गाउँपालिका र भोजपुरको टेम्के मयुङ गाउँपालिकाको सिमानामा पर्छ । यो पहाडी राजमार्ग भएर जाने नाका हो । यसलाई पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको ठाउँ ठाउँको रुपमा लिन सकिन्छ । त्यहाँदेखि माथि ३ हजार फुटको उचाइमा रहेको टेम्के डाँडाँ छ । विशेषगरी नाका भएको हुँदा पर्यटकहरुलाई सुरक्षित महसुस गराउने हाम्रो दायित्व हो । साथै खानबस्न सहुलियत र सौहार्दपूर्ण वातावरणमा अगाडि बडाउने प्रयत्नमा छौं । अलिकति खानेपानीमा समस्या छ । त्यसको लागि पनि सहजीकरण गरिरहेका छौं । सहरीकरणको चाँप बड्न खोजिरहेको छ, त्यसलाई पनि व्यवस्थित गर्नु छ । पर्यटनको लागि सूचना केन्द्र पनि हामीले यहि ठाउँमा बनाउन खोजिरहेका छौं ।
अन्त्यमा ?
मेरो मुख्य ‘कन्सेप्ट’ सडक विकास नै हो । अघिल्लो सरकारले विजुलीमा धेरै काम गरेता पनि केहि अपुरो छन्, त्यसलाई पुरा गर्ने, रणनीतिक ढंगबाट शिक्षामा सुधार ल्याउने र सबैभन्दा ठूलो कुरा पर्यटनमार्फत यस गाउँपालिकाका जीवनस्तर उकास्नेछु ।