विराटनगर । मधेश प्रदेश सरकारमा एमालेबाट थपिएका तीनजना मन्त्री र एकजना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्रिपरिषद विस्तार गर्दै नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण तथा मन्त्रालय बाँडफांट गरेका हुन् ।
स्वतन्त्र जितेका प्रदेश सांसद प्रमोद जयसवाल एमालेमा प्रवेश गरेर मन्त्री बनेका हुन् । पर्साबाट स्वतन्त्र जितेका उनी शनिबार नै एमाले प्रवेश गरेर मन्त्री पद लिएका हुन् । मन्त्री जयसवालले अरुतिर सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेको बताए ।
गत सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी)लाई मन्त्री बनाउँदै मुख्यमन्त्री यादवले कांग्रेससँग रहेको सत्ता समीकरण फेरेका थिए । एमालेका प्रदेश सांसद राजकुमार लेखीलाई गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी दिइएको छ ।
एमालेका सांसद केशव रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।