काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका एक नेपालीको सजाय कार्यन्यवयन गरिएको छ । आफन्तको हत्या र पशु करणी मुद्धामा मृत्युदण्ड सजाय पाएका उदयपुरका विवेक दाहालको सजाय कार्यान्वयन गरिएको हो ।
जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको रयादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ ।
२००६ मा साउदी अरब पुगेका विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
नेपाली दूतावासका एक अधिकारीका अनुसार पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भए । विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट नभएको र त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा रहेकाले अदालतबाट माफी नभएको उनको भनाइ छ ।
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् । त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।