काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले २०८२ को निर्वाचनले संसद्को स्वरुप मात्रै होइन देशको मनोविज्ञान नै बदलिएको बताएकी छन् ।
आजको संसद् बैठकमा डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन गर्दै गौतमले संसद्मा यसपटक धेरै नयाँ अनुहार आएको भन्दै उनले नेपाल अब यथास्थितिमा बस्न तयार नभएको साथै तदर्थवादको चक्रमा अल्झिरहन नचाहेको बताएकी हुन् ।
संसदमा नेपालका कठिन भूगोलको पीडा पनि प्रतिविम्बित भएको भन्दै उनले यहीँ उज्यालो भविष्यको आशा पनि देखिरहेको बताइन् ।
यो संसद् ऐतिहासिक परीक्षामा समेत रहेको उनले बताइन् ।
प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक मात्र प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । सो प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।