काठमाडौँ – सरकारले कोरोनाविरूद्धकाे भ्याक्सिन समयमै आपूर्ति गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो ।
बैठकले कोभिड–१९ (काेराेना भाइरस) सम्बन्धित भ्याक्सिन समयमै नेपालमा भित्र्याउन सकियाेस् भन्ने हेतुले समिति गठन गरेको जनाइएकाे छ । हालका लागि समितिले कुन देशमा कुन भ्याक्सिन बनिरहेको छ र त्याे कहिले, कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन गर्नेछ । भरपर्दाे भ्याक्सिन बजारमा अाएपछि नेपालमा पनि भित्र्याउनेबारे समितिले तयारी गर्नेछ ।
यसका लागि भ्याक्सिन समयमै भित्र्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने जनाइएकाे छ । साेमबार मात्रै कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशतभन्दा बढी सफलतापूर्वक काम गरेकाे खबर बाहिरिएकाे थियाे । यसले विश्व मानव जगतमा अाशा पलाएकाे छ । अमेरिकी विकासकर्ताहरू (फाइजर र बायोटेक) ले यसलाई विज्ञान र मानवताका लागि महान दिनको रूपमा व्याख्या गरेका छन् ।
साथै साेमबारकाे मन्त्रिपरिषद बैठकले सबै नागरिककाे काेराेना कोरोना परीक्षण र उपचार पनि नि:शुल्क गर्ने निर्णय गरेकाे छ । यसअघि सर्वोच्च अदालतले सरकारलाई आदेश दिँदै काेराेनाकाे उपचार र परीक्षण नि:शुल्क गर्न परमादेश दिएकाे थियाे ।