काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सिके राउतले मुलुकको निर्वाचन प्रणाली मधेसी र आदिवासी समुदायले निर्वाचन नै नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरिएको आरोप लगाएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा बोल्दै राउतले भने, ‘तराई–मधेसको निर्वाचन क्षेत्र छुट्याउँदा उत्तर–दक्षिण क्षेत्र बनाइएको हुन्छ । यसरी काटिएको हुन्छ कि त्यहाँको मशेधी र आदिवासी समुदायले निर्वाचन नै नजित्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण (जेरीमेन्डरिङ) गरिएको छ।’
कन्क्लेभको दोस्रो दिन आयोजित पहिलो सत्र ‘निर्वाचनमा सुधार : नीति कि प्रवृत्ति ?’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले षड्यन्त्रपूर्वक निर्वाचनलाई विभेदपूर्ण बनाइएको दाबी गरेका हुन् ।
उनले भने, ‘तराई मधेशको जनसंख्या ५४ प्रतिशत छ । ५४ प्रतिशतमा उम्मेदवार उठाउने राष्ट्रिय पार्टी नहुने ? हुम्ला जुम्लामा उम्मेदवार उठाउँदा मात्र राष्ट्रिय पार्टी हुने ? यो कुरा स्वीकार्य हुँदैन । अहिले कति विभेद गरिएको छ भने तराई मधेसमा कति सिट दिइएको छ ? १६५ वटा सिटमा ७६ वटा सिट मात्र दिइएको छ । जब आधाभन्दा बढी जनसंख्या तराई मधेसमा छ । यसमा जेरीमेन्डरिङ गरिएको छ ।’