काठमाडौं । पूर्वगृृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की प्रहरीलाई जिल्ला अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलगायत ४ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।
उस्तै कसुरमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईं र गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार रामबहादुर खनालमाथि पनि अनुसन्धान गर्न प्रहरीले त्यति नै म्याद पाएको छ । थपिएको म्याद कात्तिक १५ देखि गणना भएर कात्तिक २४ मा सकिनेछ ।
मंगलबार सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहन्यायाधिवक्ता विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडित (जाहेरवाला) तर्फका अधिवक्ता युवराज पराजुलीलगायतले बहस गरेका थिए ।
यस्तै, गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, मेघराज पोखरेल, नारायण घिमिरे, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायण कँडेलले बहस गरे । जोशीका तर्फबाट बहसमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल थिए । पछाईं र खनालका कानुन व्यवसायीले भने समय अभावका कारण बहस गर्न पाएनन् ।