April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संसदको गतिरोध अन्त्यका विषयमा गम्भीर बन्न प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

1.1K

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संसदको गतिरोध अन्त्यका विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

आइतबार अध्यक्ष नेपाल र पार्टी उपाध्यक्ष प्रमेश हमालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संसदमा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उपाध्यक्ष हमालकाअनुसार संसदमा देखिएको गतिरोध समाधान गर्ने विषयमा प्रधानमन्त्रीको सक्रिय पहल होस् भन्ने अनुरोध गरेका थिए।

Advertisement

उपाध्यक्ष हमालले भने, ‘हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने कुरा प्रधानमन्त्री प्रचण्डलाई भनेका छौं। जवाफमा प्रधानमन्त्री प्रचण्डले सहमतिको आधारमा अगाडि बढ्ने बताउनु भएको छ।’

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘संसद जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ। अहिले संसद अवरुद्धजस्तै भएको छ। संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ। नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रि हुनुपर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दु:खद छ।’

ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ,‘प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ। हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं-संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ताद्धारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गम्भीर पहल गर्नुहोस्। कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव सम्माननीय प्रधानमन्त्रीज्यूलाई छ भन्ने कुरामा हाम्रो पार्टी विश्वस्त छ। यसर्थ, संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा सम्माननीय प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्।हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुनेछ।’
एकीकृत समाजवादीले नेपाली कांग्रेस र एमालेलाई पनि ध्यानाकर्षण पत्र बुझाएकाे छ ।