May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

प्रहरी भिडद्धारा निर्देशित हुँदैन, सत्यतथ्य छानविन गर्छ: डिआइजी खापुङ

1.5K

वि.सं.२०५२ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवा प्रवेश गरेका नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङ हाल कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालीरहेका छन् । यसअघि उनले बेलबारी, बानेश्वर, तीनकुने, गौशाला, धरान, दरबार मार्ग, सिंहदरबारलगायत धेरै इलाकाको इन्चार्ज तथा बागलुङ जिल्ला कमान्ड सम्हालिसकेका छन् । कर्मचारी प्रशासन, अपराध अनुसन्धान महाशाखा प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै कोशीको डिआइजी बनेका खापुङले यतिबेला कोशी प्रदेशभित्र ‘दुव्र्यसन विरुद्ध आमा’ अभियान सुरु गरेका छन् ।

तेह्रथुम जिल्लाको साविक मोराहाङ हालको मेन्छ्यायेम गाउँपालिकामा जन्मिएका खापुङले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी लिँदैगर्दा आफ्नो ठाउँमा राम्रो काम गर्ने उद्देश्यले आएको उल्लेख गर्दै सकेसम्म राम्रै काम गर्ने प्रतिवद्धता जनाएका थिए । निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्ने बित्तिकै मोरङमा लामो अवधि बसेका खापुङ यस प्रदेशमा प्रहरीको दायित्व, कर्तव्य र चुनौतीसँग जानकार छन् । जसमध्ये यस प्रदेशमा लागूऔषध दुव्र्यसन पनि विकराल रुपमा बढ्दै गइरहेको एक समस्या हो । जसको न्यूनीकरणका लागि यस अभियान प्रभावकारी हुन सक्ने डिआइजी खापुङको अपेक्षा छ । उनी भन्छन्, ‘यो जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम हो । लागूऔधषधविरुद्ध हामीले अहिलेसम्म गरेको कार्यक्रमहरूमध्ये यो धेरै प्रभावकारी हुन्छ होला भन्ने मलाई लाग्छ ।’ बच्चाहरू सधैं आमाको नजिक हुने भएको हुँदा आमालाई नै सचेत गराए लागूऔषध न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।

भारतसँगको खुला सिमाका कारण पनि कोशी प्रदेशमा लागूऔषध दुव्र्यसनी र आपराधिक गतिविधिहरू हुने गर्छन् । यसअघि पनि प्रहरीले दुव्र्यसनविरुद्ध विभिन्न अभियानहरू संचालन नगरेका हैनन्, तर दुव्र्यसनी न्यूनीकरण हुनुको सट्टा झन्–झन् बढेको देखिन्छ । अहिले लागूऔषध र दुव्र्यसनी सहरबाट पहाडका गाउँगाउँसम्म पुगिसकेका छन् । यस्तो अवस्थामा यस्ता भावनात्मक कार्यक्रमले न्यूनीकरण होला त ? भन्ने प्रश्नमा बच्चाहरूको सबैभन्दा नजिकको साथी नै आमा भएको हुँदा आमालाई नै सचेत गराए यस अभियान सफल हुने डिआइजी खापुङ बताउछन् ।

Advertisement

खापुङका अनुसार लागूऔषध दुव्र्यसनीविरुद्ध डिमान्ट घटाउने र ‘सप्लायर्स कन्ट्रोल गर्ने दुईवटा प्रहरीको अभियान रहन्छ । नेपालमा प्रायः विदेशदेखि लागूऔषध सप्लाई भइरहेको देखिएको तथा कतिपय भारत र कतिपय हवाइमार्गबाट तस्करहले लागूऔषध ल्याउने गरेको पाइएको उनको भनाइ छ । औषधीनै तोकिएको मात्राभन्दा बढी खाए दुव्र्यसन हुने, नेपालमा गाँजा, अफिम, कोकिनहरूको खेती गर्ने भएको हुँदा कन्ट्रोल गर्न नसकिने र नियन्त्रण भन्दा पनि न्यूनीकरण गर्न सकिने उनको निष्कर्ष छ ।

पछिल्लो समय आपराधिक घटनाहरू झन् धेरै बढेर गएको हो कि ? भन्ने भान हुन्छ । यस सन्दर्भमा डिआइजी खापुङ जनसंख्याको अनुपातसँगै आपराधिक घटनाहरू पनि बढ्ने र पहिलाको जनसंख्याको तुलनामा अहिले आपराधिक गतिविधी बढेजस्तो देखिएपनि यो अत्यासलाग्दो दर भने नभएको बताउछन् । अहिले मिडिया नेटवर्क राम्रो भएको कारण नागरिकलाई घटना बढेको भ्रम भएको उनको भनाई छ । ‘अहिलेको सोसियल मिडिया र युटुबरले त गाउँगाउँ, गल्लीगल्ली पुगेर गैरजिम्मेवार तरिकाले घाटनाका फोटो÷भिडियो पोष्ट गरेको हुन्छन् । घर जलिरहेको हुन्छ, ‘हेर्नोस् प्रहरी आएन’ भन्दै लाइभ गरिरहेको हुन्छ । वास्तवमा उद्धार कार्यमा त नागरिक समाज पनि जिम्मेवार छ नि ! त्यसकारण प्रचारप्रसार चाहीँ बढी भएको छ’, खापुङको स्पष्टीकरण छ । यद्यपि यस्ता किसिमका सोसियल मिडियाका युजर्सहरूले पोष्ट गरेको सामग्रीहरूलाई प्रहरीले अनुसन्धानको स्रोतको रुपमा लिएको पनि बताउछन् ।

त्यसो त सोसियल मिडिया र युटुवर्सहरूले घटनालाई अतिरन्जित बनाउने गरेको पाईन्छ । एउटै घटनालाई फरकफरक शीर्षकसहित अफवाह र भ्रम सिर्जना गरिरहेका हुन्छन् । त्यसरी घटनाको ‘खुलासा’ भन्दै सम्वेदनशील घटनाहरू सार्वजनिक गर्दा यसले प्रहरीको अनुसन्धानमा चाहीँ असर पार्छ कि पार्दैन ? भन्ने प्रश्नमा डिआइजी खापुङ यसको सकरात्मक र नकरात्मक दुवै किसिमको असर रहने बताउछन् । तर भेरिभाइ गर्ने क्रममा कहिलेकाहीँ फेक र कहिलेकाहीँ राम्रै कुरा आउने गरेको बताउछन् । त्यस क्रममा अलिक दुःख भने हुने उनको भनाई छ । ‘हामी गलत कुरा गर्दैनौं । आधिकारिक जवाफ त हामीले दिनुपर्छ । त्यसकारण अलिकति हामीलाई दुःख हुन्छ,’ खापुङको भनाई छ ।

पछिल्लो समय प्रहरी प्रशासान तथा न्यायालय भिडद्धारा निर्देशित हुने गरेको आरोप छ । जता भिडका पल्ला भारी छ, प्रहरी प्रशासन तथा न्याय प्रशासन ढल्कन्छ भन्ने आम नागरिकको आरोप छ । तर यसमा भने खापुङ सहमत छैनन् । उनी भन्छन्, ‘सबै आरोपको खण्डन गर्न सकिदैन । म अदालतको कमेन्ट गर्दिन, तर प्रहरीको हकमा भिडले निर्देशित गर्दैन । प्रहरीको संगठनको क्षमताले भ्याएसम्म सत्यतथ्य छानविन गर्ने गर्दछ ।’

४३० किलोमिटर भारतसँग सिमा जोडिएको कोशी प्रदेशमा काकरभिट्टा, जोगबनी र पशुपतिनगर गरी प्रखुम ३ नाका छन् । ३ नाकामध्ये जोगबनी र काँकरभिट्टा अति व्यस्त नाका हुन् । जुन नाका पार गर्दै नेपाली उपभोक्ताहरू भारतीय बजारमा किनमेल गर्न पुग्छन् । यी नाकाबाट दैनिक करोडौं नेपाली रकम भारत पुग्ने अनुमान गरिन्छ । नेपालको तुलनामा झण्डै पचास प्रतिशत सस्तो पर्ने भएको हुँदा आफूलाई आवश्यक पर्ने सामग्री किनमेल गर्न मुख्य सहरहरु धरान, इटहरी, दमक, विर्तामोड लगायत कोशी प्रदेशका विभिन्न ठाउँबाट किनमेल गर्न नेपालीहरू भारतीय बजार जाने गर्छन् । तर पछिल्लो समय यी नाकामा सर्वसाधराण सबैलाई राजस्वको दायरामा ल्याइएको छ । यसबारे सोधिएको प्रश्नमा यी सबै कानूनसम्मत नै रहेको खापुङको स्पष्टीकरण छ । देश अर्थतन्त्र मन्दी भएको अवस्थामा सबैलाई कानूनको दायरामा ल्याउनुपर्छ भन्ने मान्यताअनुरुप नाकामा कडाइ गरिएको उनको भनाई छ ।

कोशी प्रदेश नाम आफैमा विवादित छ । ०७९ साल फागुन १७ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वका् सरकारले प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरेपछि पहिचान पक्षधरहरू आन्दोलित भए । भुगोल र पहिचानको आधारमा पुनः नामकरण गरिनुपर्ने भन्दै चर्किएका आन्दोलनमा एकजना सहिदसमेत भइसकेका छन् भने सयौं प्रहरी र आन्दोलनकर्मीहरू घाइते भएका थिए । डिआइजी चन्द्रकुवेर खापुङले कोशी प्रदेशको जिम्मेवारी सम्हालिरहँदा पहिचान पक्षधरहरूले आफूहरूको आन्दोलनलाई कमजोर बनाउन लिम्बूलाई यस ठाउँमा पठाएको आरोप लगाएका थिए । पहिचान पक्षधरहरूको माग अझैं पुरा भइसकेको छैन, यस प्रश्नमा खापुङको प्रतिप्रश्न छ, ‘म आउँदा वहाँहरूको आन्दोलन दबिन्छ र ?’

कुनै पनि क्षेत्रको प्रहरी नेतृत्व परिवर्तन हुँदा केही फरक तथा प्रभावकारी काम होला कि ? भन्ने नागरिकको अपेक्षा रहन्छ । त्यसमा पनि खापुङ यसअघि अपराध महाशाखाका प्रमुख हुँदा हानिकारक स्यानिटाइजर उत्पादक कम्पनी, चोरीका सवारी साधन विक्रेता र प्रयोगकर्तामाथि कारवाही भएका थिए । त्यसैगरी राजश्व छल्ने, अपहरण फिरौती, चोरीठगी, अवैध व्यापारल, हनी ट्रयापलगायतका थुप्रै सफल अप्रेशन गरिसकेको हुँदा उनीमाथि नागरिकले अपेक्षा राख्नु स्वभाविक हो । तर, नयाँ नेतृत्वले फरक काम गर्ने भन्दा पनि प्रहरी ऐन नियम भित्र रहेर काम गर्नुपने खापुङ बताउछन् । कसको काम के ? भन्ने ऐनमै उल्लेख भएको हुँदा ऐन अन्तर्गत नै काम गर्ने तर अलिक कलात्मक तरिकाले भने गर्न सकिने उनको भनाइ छ ।

आज जुन ठाउँमा आसिन छन्, तर बाल्यकालमा भने खापुङलाई प्रहरी नै बन्छु भन्ने लागेको थिएन । ‘धेरै नेपालीहरूको यही नै हुन्छु भन्ने प्लान एकदमै कम हुन्छ जस्तो लाग्छ । पूर्वका अधिकांश लिम्बुहरूको लाहुरे हुने कल्चर थियो’, उनी भन्छन्, ‘मेरै दुईजना दाई ब्रिटिश आर्मी हुन् । म साइलो । म पनि लाहुरे हुन सक्थेँ हुँला । हाइट वेट पनि पुग्ने किसिमकै थियो । तर, बुबाले पढ्नुपर्छ है ! भन्नुहुन्थ्यो ।’ लोकसेवा तयारी गर्दैगर्दा प्रहरीमा पनि कोसिस गरौं न त ! भन्ने हिसाबले प्रहरीको परीक्षामा सामेल भएका उनी आज संगठनको उल्लो तहसम्म पुग्ने तहमा छन् ।

पेशाले नेपाल प्रहरीको सेवामा आवद्ध खापुङ एक राम्रो कवि तथा गीतकार पनि हुन् । उनका थुप्रै फुटकर कविताहरू छापिएका छन् भने ‘भ्रममा परेँ’, ‘छोडिजाने निष्ठुरी’, ‘तिम्रै लागि गाइदिन्छु’, ‘भाग्यमै नलेखेको’ लगायत दर्जन बढी गीतहरू रेकर्ड भएका छन् । पछिल्लो समय खापुङ विशेष गरी पाःलाममा कलम चलाईरहेका छन् भने गजल र मुक्तकसमेत लेख्छन् । उनी कवितासंग्रह निकाल्ने तयारीमा पनि छन् ।

सेवामध्ये कडा क्षेत्र मानिएको प्रहरी प्रसाशन क्षेत्रमा कार्यरत खापुङ भावनासँग पनि खेल्ने गर्छन् । कहिलेकाहीँ हिँड्दाहिँड्नै कविताका विम्बहरु फुरेपछि हिँड्दाहिँड्नै कविता ड्राफ्ट गर्ने उनी रिटायर्ड भएपछि समाजसेवा गर्ने सोचमा छन् ।