April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टिप्पणी : काठमाडौंका मेयर बालेन ‘नायक’ बन्दैछन् कि ‘खलनायक’ ?

3.4K

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को पछिल्लो सक्रियताले चर्चा पाएको छ । उनको सक्रियता र गतिविधीलाई लिएर धेरैले सकरात्मक र केहीले आलोचनात्मक टिप्पणी गरेका छन् । महानगरका विभिन्न स्थानमा भूमिगत पार्किङमा बनेका नक्सा विपरीतका संरचनाहरु डोजर नै लगाएर भत्काउन थालेपछि त्यसबारे चर्चा चुलिएको हो ।

कतिपयले बालेनको शैली ठिक भए पनि प्रक्रिया गलत भएको प्रतिक्रिया दिइरहेका छन् भने केहीले साहसिक कदम भनेर प्रसंशा गरेका छन् । काठमाडौंका केही व्यापारीले बालेनले अधिकार दुरुपयोग गरेको आरोप लगाएका छन् ।

काठमाडौं उद्योग वाणिज्य संघका केही पदाधिकारीले महानगरपालिकाले अवैध संरचना हटाउने क्रममा ‘साना व्यापारीहरुको रोजीरोटी खोसेको’भन्दै आपत्ति जनाएका छन् । त्यो भन्दा पनि एमालेका नेता महेश बस्नेत बालेनप्रति बढी क्रुद्ध बनेका छन् । नेता बस्नेतले काठमाडौं महानगरभित्रका अवैध संरचनामा डोजर चलाएकामा बालेनप्रति क्रुद्ध बनेको उनले सामाजिक संजालबाट प्रतिक्रिया दिइरहेका छन् ।

Advertisement

पछिल्लो पोष्टमा बस्नेतले मेयर बालेनलाई मवादी, सस्तो लोकप्रियतावादी भएको र आफ्नो एउटै स्टाटसले बालेनको समर्थकबीच भूकम्प गएको भन्दै नव उद्वारवादी बालेनको धरातल कमजोर रहेको बताएका छन । यसअघि बस्नेतले भत्काएर र ध्वंश गरेर हिरो हुन्छु भन्ने नसेच्न मेयर बालेन्द्रलाई चेतावनी दिएका थिए । २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि उनले आग्रह गरेका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौं अध्यक्ष दिनेश श्रेष्ठले पनि बालेनको आलोचना गरेका छन् । घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यवसायीमाथिको धरपकड तत्काल बन्द गर्न उनले आग्रह गरेका छन् ।

चर्को आलोचनासँगै बालेनको कदमको प्रशंसा गर्नेहरु सामाजिक संजालमा सबैभन्दा धेरै छन् । सामाजिक सञ्जालमा धेरैले महानगरको अभियानको स्वागत गरेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले महानगरको अभियानको प्रशंसा छन्। पूर्व अर्थसचिव रामेश्वर खनाल पनि बालेनको पक्षमा खुलेका छन् । ‘कानुनको अवज्ञा गर्नु स्वीकार्य सामाजिक मूल्य बन्दै गएकामा काठमाडौंका मेयरले त्यसलाई भत्काउन थालेको’ भनेर प्रतिक्रिया दिएका छन् ।

यद्यपी, महानगरको निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुसार घर तथा भवन बनाउँदा बेसमेन्टको स्वीकृती विपरित व्यापारी तथा घर मालिकहरुले संरचना बनाएकाले भत्काइएको महानगरको जवाफ छ । तर कतिपयले महानगरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन दिइरहेको प्रतिक्रिया दिएका छन् ।

तर महानगरले गत १ साउनमा ३५ दिने सूचना जारी गरी घर तथा भवन निर्माण गर्दा पास भएको नक्साअनुसार अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिएको थियो। ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै सोमबारदेखि मेयर बालेन स्वयं अवैध संरचनामा डोजर लगाउन अगाडि बढेका थिए । शुक्रबार पनि महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ। महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन्।

मेयर बालेनको सक्रियतालाई नजिकबाट नियालीरहेका केही कानून व्यवसायीहरुले काठमाडौं महानगरले २०७५ साउनमा लागू गरेको भवन निर्माणसम्बन्धी कार्यविधि मेयरले नै लत्याएको प्रतिक्रिया दिएका छन् । नक्सा वा मापदण्डविपरीत भवन वा संरचना बनाउनेलाई कसरी कारबाही गर्ने भन्नेबारे उक्त कार्यविधिको ६ नम्बरमा विशेष व्यवस्था गरिएको भएपनि त्यसलाई लत्याइएको उनीहरुको भनाइ छ । महानगरले घरधनीलाई आफ्नो भनाइ राख्ने मौका नदिएको आरोप लागेको छ । यता, संरचना भत्काउन मेयर आफैं मैदानमा दौडिरहँदा उपमेयर सुनिता डंगोलको उपस्थिति नहुनुलाई अर्को रहस्यमय दृष्टिकोणबाट पनि विश्लेषण गरिएको छ ।