प्रिय छोकू !
याद आइरहन्छ
तिमीसँगै
तिमीले दिएको
जीवनको ६० वटा बशन्तका साथहरू ।
सम्झिरहन्छु म
ती छ दशक दौरान जिन्दगीको लय
अनेक उतारचढाव
हाँसो र खुशी
अनि महसुस गर्छु
तिमी हुनु नहुनुको फरक ।
याद आउँछ
तिमीलाई भेटेपछि
पल्टन छोडेको कुरा
याद आउँछ
जीवनको अर्को फरक अध्याय
रुमानी र प्रेमील पलहरू
र त्यसपछिको बेफिकर दिन
परिस्थितिका कसमकस र
तिमीलाई लिएर मुगलान पसेका दिन ।
जीवन सोचे जस्तो कहाँ र !
बितायौं हामीले पनि
कति सिसिफस दिनहरू
र पल्टायौं चट्टान अनन्तकालसम्म
सँगै त¥यौं जंघार र बाढी
झेल्यौं हामीले खहरेसँगै पहिरो
याद छ तिमीले उठाएका पहाड
र मलाई झेलेका कष्टहरू ।
धेरै दुख दिएँ तिमीलाई
कति नजानेर
कति जानेर
र मलाई अफसोस छ
तिम्रा रहरहरू फुलाउन सकिन
जुन रहरहरू हामीले हात समाउदै सुरू भए
र जीवनको छालहरूले किनारा लगाए ।
आज तिमी नहुँदा
बेस्सरी महसुस हुन्छ
तिम्रो साथको महत्व
त्यो ६० वसन्त
जहाँ हामी सधैँ साथ थियौं
भलै हाम्रा खुशीहरू औसत थिए
भलै त्यो साथ यौध्दिक थियो ।
म युद्धवीर
मलाई थाह छ
युद्धमा प्रेम हुदैन तर प्रेममा युद्ध हुन्छ ।