युवा पुस्ताकी प्रखर कवि हुन् रिमा केसी । महिला सशक्तीकरण तथा समसामयिक विषयमाथि कलम चलाउने केसीको ‘यात्रामा अक्षर’ कवितासंग्रह प्रकाशित छ । उनले हालसालै चर्चित भारतीय साहित्यकार अमृता प्रीतमका छानिएका कविताहरू नेपालीमा अनुवाद गरी ‘अमृता प्रीतमका छानिएका कविता’ पाठकमाझ ल्याएकी छिन् । उक्त पुस्तकले काठमाडौं–कलिङ साहित्य महोत्सवमा अनुवादतर्फ ‘यशस्वी’ अवार्ड प्राप्त गरेको थियो । यीनै प्रसंगमा कवि रीमा केसीसँग गरिएका संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छः
शब्दसँग खेल्न सुरु गर्दाको स्मरण सुनाउनुहोस् न ?
– अध्ययनमा शब्दसँग रमाउन त सानैदेखि नै सुरु गरेँ नि ! लेखनको कुरा गर्नु पर्दा स्कुल छँदा नै लेख्थेँ । तर आफैँमा सिमित राखेँ । एकदिन आमालाई एउटा कविता सुनाएँ । आमाले गाली गर्नुभयो, “यस्ता पीडाका कुरा किन लेख्छेस् ? के पर्यो तँलाई त्यस्तो पीडा” भनेर ! त्यसपछि कसैलाई सुनाइनँ कविता । पछि फेसबुकको जमाना आयो । लेखेर फेसबुकमा पोष्ट गर्न थालेँ । साथीहरूले पढ्न थाले । यसरी मेरो शब्दहरूसँगको नाता मसँग मात्र सिमित नभएर सार्वजनिक हुन पुग्यो ।
तपाईँद्धारा अनुवादित पुस्तक ‘अमृता प्रीतमका छानिएका कविता’ले काठमाडौं–कलिङ साहित्य महोत्सवमा यशस्वी अवार्ड प्राप्त गर्यो । अनुवादित पुस्तक त अरू पनि थिए होलान्, तपाईँकै पुस्तक कसरी छनौटमा पर्यो जस्तो लाग्छ ?
– अमृता प्रीतम साहित्यिक क्षेत्रमा बहुचर्चित नाम हो । उनलाई नचिन्ने र उनका साहित्यिक रचना नपढ्ने सायदै कोही होलान् । उनको साहित्यले सबैलाई मन्त्रमुग्ध पार्छ । सबैको अन्तर मनलाई चस्स छुन्छ, विशेष गरी उनका कविताहरूले बहुत मीठो दर्द दिन्छ ।
उनका तिनै कविताहरूलाई नेपाली भाषामा अनुवाद गर्ने मेरो पहिलो प्रयास हो । सायद म सफल भएँ, उनको त्यो कविताको गहिराईलाई सबैको मनसम्म छुने बनाउन । त्यसैले अनुवाद तर्फको विधामा मेरो कृतिलाई पुरस्कृत गरियो होला ।
अमृता प्रितम तपाईँको रोजाइमा पर्नुका कारणहरू ?
– अमृता प्रीतमका कविताहरू यथार्थ लाग्छन् मलाई । उनको जीवन नै एउटा सिङ्गो कविताको पुस्तकभन्दा कम छैन । उनका कवितामा उनको जीवनका भोगाइहरूका बिम्ब र प्रतिकहरू भेटिन्छन् , गहिरा, तिता, मीठा । म उनका कविताका भावसँग परिचित छु जस्तो लाग्छ । सायद त्यसैले मैले आफ्नो मनको खुशीको लागि उनलाई अनयासै रोज्न पुगेँ ।
पुस्तकको ‘ओरिजिनल’ भाषामा पढ्दा पाइने मिठास अनुवादमा अलि कम पाइन्छ भनिन्छ, आफ्नो अनुभव र प्रयासबारे बताइदिनुहोस् न ?
– ओरिजिनल भनेको आमा जस्तै हुन्छ । अनुवाद छोरी जस्तै हो तर उसको आमामा भएका गुण, मिठास, रूप, रङ्ग छोरीमा आफैँ आउँछन् नै भन्छु म । कविताको कुरा गर्नु पर्दा मैले उनको शैलीलाई सकेसम्म उतार्ने प्रयास गरेकी छु । भाव उही नै ल्याउने हरदम कोसिस रहेको छ । भाषाले गर्दा केही कविता ओरिजिनलभन्दा अझ सुन्दर पनि भएका छन् भने केही कमजोर पनि होलान् । अत्तरलाई अर्को सिसीमा खन्याउँदैमा सुगन्ध नै फरक पर्छ भन्ने हुँदैन । त्यस्तै कविता अन्य भाषामा अनुवाद हुँदैमा त्यसको भाव र मिठास मरिहाल्छ भन्ने हुँदैन । कविता पढ्दा कसले कसरी पढ्यो ? कसले कसरी बुझ्यो त्यसमा पनि भर पर्छ ।
विश्व साहित्य पढ्न त धेरैले पढ्लान्, तर उक्त ज्ञान जानकारी आफैँसँग सिमित राख्छन् । तपाईँले भने अमेरिकी कवि माया एन्जेलो, भारतीय कवि अवतार सिंह संधू, साहिर लुधियानवी लगायत थुप्रै कविहरूको कविता अनुवाद गरी सार्वजनिक गर्ने गर्नुभएको छ, अनुवाद तपाईँको शौख हो कि, सबै नेपाली साहित्य अनुरागीले पढुन् भनेर हो ?
– हो मलाई धेरै कविताहरू पढ्न मन लाग्छ । खोजी खोजी पढ्ने क्रममा आफुलाई मन परेका कविताहरू अनुवाद गर्न रहर अनि खुसी लाग्छ । अनुवाद गर्नु एउटा शौख पनि हो अर्को कुरा राम्रा कविता अरूले पनि पढुन् भन्ने हो । किनकी सबैले सबै कविता सहजै पढ्न पाएका हुँदैनन् । यदि ती कविता सहजै मैले पनि नेपालीमा पढ्न पाउँथेँ भनेँ यसरी खोज्नु पर्थेन मैले पनि । मलाई जस्तो अरूलाई गार्ह्रो नहोस् सहजै पढ्न पाउन भनेर पनि हो ।
विश्व साहित्य र नेपाली साहित्यबीच तुलना गर्नुपर्दा ?
– विश्व साहित्य भनेको समुद्र जस्तै हो जुन धेरै फराकिलो छ । साहित्यिक कृति प्रसस्त छन् । पाठकहरूलाई सहज छ । त्यस्लाई नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा प्रभाव पार्ने धेरै कुरा छ्न । राजनैतिक, आर्थिक, भौगोलिक, सामाजिक, शैक्षिक लगायत । नेपाल आफैमा साँगुरो पोखरी जस्तो छ । हरेक कुरामा पोखरीमै सिमित छ । उकृष्ट नेपाली कृतिहरू अन्य भाषामा अनुवाद न्यून हुनुले पनि ठूलो प्रभाव पारेको छ ।
तपाईँको आफ्नै अर्को कविता सङ्ग्रह अथवा कुनै कृति आउने तयारी छ ?
– अहिले तत्कालै त्यस्तो कुनै तयारी त गरिसकेको छैन । तर भविष्यका योजना त छँदै छन् नि !
अन्त्यमा, एक युवा साहित्यकारको नजरबाट नेपाली साहित्य क्षेत्र कस्तो देख्नुहुन्छ ?
– नेपाली साहित्यमा आउनुपर्ने अर्गानिक कथाहरू थुप्रै छन्, तर आएका छैनन् सोँचे जति । नेपाली साहित्य फराकिलो भएर विश्व बजारमा फैलिनु पर्ने हो, यहाँ थुप्रै कारणहरू छ्न । जस्तो बजार हेरेर कृति निकाल्नु, लेखकको नाम र चर्चा हेरेर प्रकाशकले प्रकासन गर्नु, गुट उपगुटका राजनीति र कुटनैतिक सम्बन्धहरूको प्रभाव, सही कृतिको सही मूल्यांकन र समालोचना नहुनु, नातावाद, कृपावाद, लैङ्गकि विभेद जस्ता धेरै कुराहरू छ्न् । यी यावत कुरा रहुन्जेल नेपाली उकृष्ट साहित्य सृजना गर्नेहरू ओझेलमै रहन्छ्न । यी कुराहरूमा सुधार हुनुपर्ने देखिन्छ ।