April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

भारतमा घट्यो संक्रमण र मृत्यु दर

4.5K

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा २१ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ ।

Advertisement

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

सोमबार भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा सोमबार यो संख्या ३ हजार १२९ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख २९ हजार १२७ पुगेको छ ।