April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सहकारीलाई अप्ठ्यारो परेको समयमा धेरै कडाई गर्दा झन् समस्या

1.7K

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आइतबार एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुसंग साझेदारीमा कार्यक्रम गर्न विभाग तयार रहेको बताए । सहकारीलाई अप्ठ्यारो परेको समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुन सक्ने भएकाले आफू नियामकीय भूमिकामा उदार भएर प्रस्तुत भएको प्रष्टिकरण दिए ।

‘वास्तवमा म उदार भएकै हो । उहाँहरुलाई अप्ठ्यारो परेको बेला धेरै च्याप्न हुँदैन’, उनले भने, ‘अवस्था सामान्य भएपछि सबै सहकारीको नियमनमा कडाई गर्छौं ।’ रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताए ।

Advertisement

सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरेपनि हालसम्म दुई वटा संघले मात्र विभागमा प्रतिवेदन बुझाएको जानकारी गराए । रजिष्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा ८ र ७३ बमोजिमको विवरण नबुझाउने संघहरुविरुद्ध विभाग एक्सनमा जाने चेतावनी समेत दिए ।

सहकारीमा देखिएको समस्याबारे धेरै हल्ला फैलिएकाले पनि संस्थामा बचतकर्ताहरुको लाईन लागेको बताए । हल्लाको भरमा आवधिक बचतको पैसा फिर्ता माग्न जाने प्रवृत्तिले गर्दापनि समस्या उत्पन्न भएको उनको भनाई थियो । ‘साना सहकारीमा नियमित बचत नभई प्रिमेचुअर आवधिक वचत फिर्ता माग्न गएकाले समस्या देखिएको हो’, उनले भने । साना सहकारीलाई व्यवस्थापन गरेर बलियो संस्था निर्माण गर्नका लागि सहकारीहरुबीच एकीकरण गर्न आवश्यक भएपनि एकीकरण प्रकृया कानुन सम्मत हुनुपर्ने कुरामा जोड दिए ।

हाल केही सहकारीले एकीकरण गर्दा नियामक निकायलाई समयमै जानकारी नदिनुका साथै संचालक समिति पुनर्गठन गर्दा समावेशीताको सिद्धान्तलाई पनि पालना नगरेको पाएकाले विभागले भोलीसम्ममा निर्देशन जारी गर्ने जानकारी गराए ।

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित भएको बताए । ‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’ उनले भने, ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो ।’

सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकहरुका साथै सदस्यहरुको पनि दोष रहेको उनले भनाई राखिन् । ‘सदस्यहरुले आफ्नो जिम्मेवारी महसुस गर्नुभएन,’ उनले भनिन्, ‘सदस्यले आफ्नो अधिकार खोज्ने मात्र नभई कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष मल्लले समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पार्दै पारिवारिकरुपमा संचालित तथा मूल्य, मान्यता, सिद्धान्त र नियम कानुन पालना नगर्ने सहकारीमा समस्या देखिएको प्रष्ट पारिन् ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताए । ‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पु¥याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, को संग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उनले भने, ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या उत्पन्न गरेको हो ।’

कानुन अनुसार १० देखि २० प्रतिशतसम्म तरलता राखेका सहकारीमा पनि अत्याधिक बचत फिर्ताको माग आउँदा समस्या उत्पन्न हुनसक्ने उल्लेख गर्दै उनले बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने जिकीर गरे । सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशत भन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको जानकारी गराए । उनले सबै सहकारी अनिवार्य सुशासनमा बस्नुपर्ने आवश्यकता औंल्याउँदै राज्य, अभियान, बचतकर्ता सदस्य र संचालकहरुले मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताए । सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै उनले मिडियाले धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्ने भनाई राखे । संस्थाका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वहरु अध्यक्ष यादव हुमागाई, डिल्लीप्रसाद सापकोटा र खिलानाथ दाहालले पनि शुभकामना मन्तव्य राखेका थिए ।