February 2, 2026, Monday
२०८२ माघ १९
1:37:26 pm

राजनीति गर्नु आत्म-उद्धारका लागि कि सामूहिक मुक्तिका लागि ?

खुशी लिम्बु
२०८२ माघ १८

1.8K

करिश्मा केसी–मानन्धरले किन बाबुरामलाई बीच बाटोमै छोडिन्? रेखा थापा किन राप्रपामा लागिन्? निशा अधिकारी किन डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीबाट उठ्दैछिन्? रिमा विक र प्रकाश सपूत किन दलित अधिकारवादी दलहरुमा लागेनन्? जगदीश खरेल, कुलमान घिसिङ, महावीर पुन र आशिका तामाङको राजनीतिको वैचारिक धरातल के हो? दिया मास्के, एलिजा गौतम, ऋषी धमला, पूजा शर्मा, रबि लामिछाने, युवराज संग्रौलाहरु कुन वर्ग, जाति, क्षेत्र, लिंग, उमेर र समुदायका लागि राजनीतिमा लागेका हुन्?

सेलिब्रिटीहरू राजनीतिमा प्रवेश गर्दा प्रायः वर्गीय राजनीतिका दल होइन, रास्वपा वा राप्रपा जस्ता दलहरू रोज्नु संयोग होइन। यसको जरो विचारधारामा भन्दा पनि सामाजिक अवस्थितिमा गाडिएको छ।

मार्क्सले भनेका थिए— “मानिसको चेतनाले उसको सामाजिक अस्वस्था निर्धारण गर्दैन, बरु उसको सामाजिक अवस्थाले उसको चेतना निर्धारण गर्छ।” यसैले उनीहरूको विचार, इच्छा र आकांक्षा उनीहरू उभिएको विशिष्ट वर्गीय धरातलबाट नै निर्मित हुन्छ। स्वाभाविक रूपमा, उनीहरूको हित र राजनीतिक झुकाव पनि त्यही वर्गसँग गाँसिएको हुन्छ। सोझो अर्थमा भन्न पर्दा, हाम्रा सेलिब्रिटीहरू जताबाट आएका भएपनि अहिले ‘एलिट क्लास’ का भएका छन्। नामले, कामले, दामले र पहिचानले।

Advertisement

वर्गीय दलहरू —विशेषतः दलित, श्रमिक, किसान वा उत्पीडित समुदायको राजनीतिले—
🔹 संरचनात्मक असमानताको प्रश्न उठाउँछन्;
🔹 पूँजी, जाति, वर्ग र राज्यको सम्बन्धलाई चुनौती दिन्छन्;
🔹 र व्यक्तिगत ‘ब्रान्ड’ भन्दा सामूहिक संघर्षलाई प्राथमिकता दिन्छन्।

यस्तो राजनीतिले सेलिब्रिटीको पहिचानको पूँजी (fame, followers, media reach) लाई सहजै केन्द्रमा राख्न दिँदैन।

त्यसको विपरीत, रास्वपा—‘एण्टी–पोलिटिक्स’ र ‘म्यानेजरियल पपुलिज्म’ मार्फत, राप्रपा—साँस्कृतिक नोस्टाल्जिया र यथास्थितिवादी अर्थनीति मार्फत, वर्गीय प्रश्नलाई या त छोप्छन्, या त व्यक्तिको नैतिकता र “गूड गभर्नान्स’ मा सीमित गर्छन्।

नेपालका राजनितिक दलहरूमा देखिएका कतिपय सेलिब्रेटी उम्मेदवारहरूले आफ्नो पहिचान र स्थान संघर्षमार्फतै बनाएका भए पनि उनीहरूको राजनीतिक आगमन पछाडि केही अदृश्य पुँजी सक्रिय देखिन्छ। सामाजिक पुँजी, सांस्कृतिक पुँजी र आर्थिक पुँजी। यी पुँजीहरूको साथ नपाएको भए, उनीहरूले सामाजिक न्याय पक्षधर वैचारिक पार्टीहरू रोज्ने सम्भावना बढी थियो। यदि उनीहरू आफ्नो लागि नभएर साँच्चै नै जनताका लागि राजनीतिमा होमिएका भए सामाजिक न्यायका पक्षधर र वैचारिक धरातल भएका पार्टीहरूमा लागेका हुन्थे।

सेलिब्रिटीहरूका पूँजीहरू मुख्यतः यीनै हुन्ः

(१) शुद्ध नेपाली बोल्न सक्नु (खस–नेपाली मातृभाषा हुनु), अंग्रेजीमा दख्खल हुनु (राम्रो विद्यालयमा पढ्ने अवसर पाएकाहरू), पश्चिमी संस्कार र ‘सोसल एटिकेट’ (खानपान, पहिरन र व्यवहारमा देखिने आधुनिकता)—यी सबै सांस्कृतिक पुँजीका रूप हुन्। यस्ता पुँजीहरू व्यक्ति विशेष परिवार, जाति र भूगोलमा जन्मनु–हुर्कनुसँग गाँसिएका हुन्छन्।

(२) त्यसैगरी, सामाजिक सञ्जालमा बलियो पहुँच, सेलिब्रिटी फलोअर्स, नाम, पद, पेशा र पारिवारिक पृष्ठभूमिबाट प्राप्त नेटवर्क—यी सबै सामाजिक र आर्थिक पुँजीका रूप हुन्। यही कारणले उनीहरू आम मानिसभन्दा धेरै माथि ‘प्रिभिलेज्ड’ स्थानमा उभिएका हुन्छन्।

यदि यी तर्कहरू गलत हुन् भने एउटा सरल प्रश्न गरौं —किन उनीहरूले सामाजिक न्यायका पक्षधर पार्टीहरू रोजेनन्? किन उनीहरू या त राप्रपा जस्तो यथास्थितिवादी शक्ति, नत्र रास्वपा जस्तो पपुलिस्ट शक्तिबाट मात्र उठ्ने निर्णय गर्छन्?

उनीहरू जतिसुकै लोकप्रिय भए पनि अन्ततः त्यही पुँजीवादी संरचनाका कठपुतली हुन्, जसले भुईँतहका मानिसहरूको वास्तविक वर्गीय पीडा अनुभूत गर्न सक्दैन। जबसम्म राजनीति ‘पपुलर फेस’ मा केन्द्रित हुन्छ र ‘क्लास पोजिसन’ को आलोचना टारिन्छ, तबसम्म यस्तो आगमन परिवर्तनभन्दा बढी व्यवस्थाको पुनरुत्पादन मात्र हुनेछ। हामीलाई केवल पपुलर अनुहार होइन, वर्गीय चेतना र स्पष्ट राजनीतिक अडान भएको नेतृत्व आवश्यक छ।