January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

तर्क र अनुभवको खडेरीमा भावनाले राज्य चल्दैन: नायक–पूजामा अल्झिएको नेपाली राजनीति

खुशी लिम्बु
२०८२ मंसिर २८

1.4K

“खरबुजा किन गुलियो हुन्छ?” – सानो छँदा हामी सबैलाई स्वाभाविक जिज्ञासा रहन्थ्यो।

बाउलाई सोध्दाखेरिन् बाउले सजिलो उत्तर दिनुहुन्थ्यो –

mostbet

“राती तिमी सुतेको बेला भगवान आएर चिनी हालिदिन्छन्।”

Advertisement

“म किन बिमारी भएँ?” —आमाले भगवान बेखुशी भएको भनेपछि हाम्रा ति जिज्ञासा पनि पुरा हुन्थे।

आमा–बाउले हाम्रा अप्ठ्यारा (awkward) प्रश्नहरुको यति सजिलरी उत्तर दिँदा अनि हामीलाई लाग्थ्यो, आफ्नो आमा-बाउभन्दा जानकार यो संसारमा अरु कोही छैनन्।

पछि ठूलो भएपछि थाहा हुन थाल्यो वास्तवमा आमा-बाउलाई त केही पनि थाहा रहेनछ। उनीहरूको उत्तर त केवल सान्त्वना रहेछ।

आजको नेपाली राजनीति पनि धेरै हदसम्म त्यही बाल्यकालीन मनोविज्ञानमा अडिएको देखिन्छ। राज्य सञ्चालन जटिल ऐतिहासिक, दार्शनिक, आर्थिक, सामाजिक र संस्थागत प्रक्रियाबाट निर्देशित हुन्छ। प्लेटो र अरस्तुबाट सुरु भएको राजनीतिक चिन्तन हब्स, लक, रुसो हुँदै मार्क्स, वेबर, रल्स, कियन्ससम्म आइपुग्दा करिब २५०० वर्षको बौद्धिक संघर्ष हो। यी सिद्धान्तहरू सार्वकालिक समाधान होइनन्, तर समस्या बुझ्ने औजार अवश्य हुन्।

तर हामी आज पनि “खरबुजा किन गुलियो हुन्छ?” भन्ने स्तरका प्रश्नमै अड्किएका छौं। राज्यका संरचनात्मक समस्या बुझ्नुभन्दा हामीलाई सजिला उत्तर मन पर्छ।हाम्रा कर्मचारी, वकिल, पत्रकार वा प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू राजनीतिमा आउँदा उनीहरूले विशेषज्ञताको छवि प्रस्तुत गर्छन्, र जनता त्यसैलाई समाधान ठान्छ। यसरी देश तर्क, नीति र संस्थागत डिजाइनले होइन, भावनात्मक राहतले चलिरहेको देखिन्छ। हामी मक्ख छौं।

देश अहिले एक जना अनुभवी कानुनविदको नेतृत्वमा छ। विज्ञान मन्त्रालय वैज्ञानिकको हातमा छ। सञ्चार मन्त्रालय पत्रकारको हातमा छ। भौतिक पूर्वाधार पूर्व कर्मचारी तथा इञ्जिनियरको हातमा छ। गृह मन्त्रालय पूर्व प्रहरीको हातमा छ। देश चलाउने वैज्ञानिक–दार्शनिक–संवैधानिक–प्रजातान्त्रिक–नैतिक उपाय यो नै हो — हामीलाई लागेको छ। अर्थात देश अहिले तर्क, विज्ञान, दर्शन, संविधान र नीति (एथिक्स) ले हैन भावनाले चलेको देखिन्छ।

यो अवस्था आउनु सामूहिक मनोविज्ञानको परिणाम हो। जब दीर्घकालीन समाधान गाह्रो लाग्छ, तब अस्थायी ‘न्यानोपन’ पनि सुखद लाग्छ। यही कारणले इमान्दार, निडर र लोकप्रिय व्यक्तित्वहरूलाई हामी राजनीतिक प्रणालीको विकल्प प्रस्तुत गर्न थालेका हौं।

अर्को बिडम्बना, अहिले अध्ययन गर्नु पर्ने, कमाउनु पर्ने, रोमान्स गर्नु पर्ने, देश–विदेश घुम्न पर्ने, ससारलाई बुझ्न प्रयत्न गर्नु पर्ने जेन्जी युवाहरु देश कसरी चलाउन भनेर भौतारिएर हिंडिरहेका छन्। मानौं नेपाल जेन्जीहरुको मात्रै हो, यो देशलाई इतिहासदेखि वर्तमानसम्म जेन्जीहरुले ल्याइपुर्याएको हो, र देश चलाउने अभिभारा र चिन्ता पनि केवल जेन्जीहरुको हो। मानौं, अरु केही होइनन्।

आफ्नो लोभ, क्रोध र भावनालाई कसरी नियन्त्रण गर्ने भनेर बुद्दले सिकाए। कसरी नैतिक र न्यायपूर्ण समाज स्थापना गर्ने भनेर कन्फुसियसले भने। राज्य कसरी सञ्चालन गर्ने भनेर पश्चिमा दार्शनिकहरुले दर्शाए। समाजमा किन कोही धनी र कोही गरीव हुन्छ भनेर मार्क्सले पोल खोले। यी अध्ययन गर्न छोडेर अहिले जेन्जी युवाहरु देश दौडाहामा लागेको देखिन्छ। परिस्थितिले कसरी मानिसलाई लोभी र भ्रष्टाचारी बनाउँछ भनेर बुझ्को साटो आफ्ना वरिपरि युट्युबरहरु लिएर हिंडिरहेका छन्।

मानिस कसरी आत्मनिर्भर र उद्यमशील बन्न सकिन्छ भनेर सिकाउने एडम स्मिथको Wealth of Nationa र रिकार्डो र जेएस मिलको उदारवादलाई विसौं शताब्दीसम्म आइपुग्दा नवउदारवादी फ्रेडरिक हायक र मिल्टन फ्रिडम्यान जस्ता नवउदारवादीहरूले हरुले कसरी मैल्याएर पूँजीवादलाई असफल र बदनाम पारे? त्यसरको रतिभर मतलव छैन जेन्जीहरुलाई। साँस्कृतिक समानता लागि एण्टोनियो ग्राम्सीलाई बुझ्ने पर्ने जेन्जी, अवसरहरुका समानता र वितरण प्रणालीका लागि जोन रल्सलाई पढ्न पर्ने जेन्जी, आर्थिक वितरणमार्फत अर्थतन्त्र चलायमान बनाउन पर्छ भनेर कियन्सलाई हेर्न पर्ने जेन्जी अहिले मुहान साफ गर्न छोडर तल नदी साफ गर्नेतिर लागेको देखिन्छ।

मार्क्सवाद किन लागू हुन सकेको छैन? यसको उत्तर नवमार्क्सवादमा हेर्दैनन् जेन्जीहरु। देशहरु किन असफल हुन्छन? Why Nations Fail पुस्तक पढ्दैनन् जेन्जीहरु। दक्षिण एसियाली राष्ट्रहरु किन पछि रहे? अम्बेडर र आहुतीहरुलाई चिन्दैनन् जेन्जीहरु। महिलाहरू किन अझै पनि पीडित छन्? धर्ममा पोषिएको पितृसत्ता देख्दैनन् जेन्जीहरु। भ्रष्टाचार, असमानता, बेरोजगारी, युवाहरु आफैं प्रविधि र उपभोक्तावादसंग कसरी मनोरञ्जनलम्पट, अल्छी, असृजनशील बन्दै गइरहेका छन् जान्न चाहँदैनन् जेन्जीहरु। नेपालीहरु मुगलकालदेखि मुगलाने हुँदै, बिट्रिशकालमा लाहुरे हुँदै आज पनि देश धान्न किन विदेशिनु परेको छ र यो कसले गरेको हो? नवउपनिवेशवादबारे रुची राख्दैनन् जेन्जीहरु। पानी बाघद्वारमा किन मैलो छ मतलव छैन, तल बाग्मती सफा गर्छन् जेन्जीहरु।

अतः रवि लामिछाने, हर्क साम्पाङ, बालेन, रमेश खरेल, कुलमान घिसिङहरु इमान्दार, देशभक्त, निडर, कर्मठ, मिहेनती र सम्भवतः निष्कलंक नेपालीहरु हुन्। तर यिनीहरुलाई देश सुम्पने कुरा खेलाँची होइन। विज्ञहरु राम्रा कर्मचारी र प्रशासक बन्न सक्छन् तर राजनेता हुन सक्छन् भन्ने हुँदैनन्। राज्य सत्ता चल्ने भनेको प्रणालीले हो, चलाउने भनेको राजनेताहरुले हुन्।

यदि प्रणाली नै निर्णायक नहुने हो भने—१९३० र २००८ का आर्थिक संकट किन आए? नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले किन रोक्न सकेनन्? विश्वका उत्कृष्ट प्रहरी र अदालत हुँदाहुँदै अपराध किन रोकिएन? उत्तर स्पष्ट छ—व्यक्ति होइन, प्रणाली निर्णायक हुन्छ।

अतः राजनीति कुनै मिथक, जादू वा नायक–पूजाको विषय होइन। तर्क र अनुभवको खडेरीमा भावनाले राज्य चल्दैन। राज्य सञ्चालन शक्ति, संस्थागत संरचना, नीति–नियम र दीर्घकालीन दृष्टिमा निहित हुन्छ। जबसम्म हामी व्यक्तिभन्दा प्रणालीलाई केन्द्रमा राख्दैनौं, तबसम्म ‘नयाँ नायक’ खोज्ने चक्र दोहोरिरहन्छ, समस्या उही रहन्छ।