काठमाडौँ – सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय सञ्चालनका आधार तय गरेपछि विभिन्न पालिकामा शैक्षिक गतिविधि सुरु हुन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको महिना ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ जारी गर्दै पालिकामा जिम्मेवारी हस्तान्त्ररण गरेपछि पालिकाले आवश्यक परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरु गरेका हुन् ।
भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंका अनुसार कोरोनाका कारण वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा पालिकाले लगानी गर्नुपर्ने देखिएको र अब जसरी हुन्छ पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड र भौतिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अब विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना समेत सम्बोधन हुने बताउनुभयो ।
कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको लमजुङको मर्स्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।