काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै उनले देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले मुलुकलाई हिंसा र विध्वंसतिर लान खोजिरहेको बताएका हुन्।
नेता खनालले भने, ‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेका छन्। उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।’
उनले देश संकटमा रहेकाले सिद्धान्तका आधारमा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गरेका छन्।
निर्वाचन घोषणा गरेपनि शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार नभएको बताए।