वि.सं.२०४४ पुस १९ मा डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले आफ्नो यात्राका ३८ वर्ष पूरा गरेर पुस १९ गते शनिबार सात घटकसहितको ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस महासङ्घकै सभाकक्ष बागबजारमा भव्य रूपमा मनाएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा संस्थापक महासचिव एवम् नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अतिथिहरूमा एमाले केन्द्रीय सदस्यहरू सुजिता शाक्य, हेमराज राई र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ उपस्थित थिए ।
समारोहमा प्रमुख अतिथि रघुजी पन्तले मोदनाथ प्रश्रितको नेतृत्वमा ३९ वर्ष पहिले स्थापना भएको यो महासङ्घले धेरै नै आरोह–अवरोह पार गरेको बतार । ‘अहिले हामी प्रविधिको युगमा छौँ र अहिले प्रविधि सिर्जनशीलताका निम्ति चेनौतीका रूपमा पनि रहेको छ । लेखन भनेको मानवीय अनुभूति हो र यो समाजबाटै ग्रहण गरिन्छ । महासङ्घको र तपाईँ–हामी स्रष्टाका लागि पुरानाको सम्मान गर्दै नयाँपुस्तासम्म पुग्नुपर्ने र उनीहरूलाई समेटेर वैचारिक एवम् सोद्देश्यमूलक यात्रामा ल्याउनुुपर्ने आवश्यकता रहेको छ र तपाईँ–हाम्रो प्रयत्न यस दिशामा समर्पित होस्’, उनले शुभकामना दिएका थिए।
विशेष समारोहमा नन्दु उप्रेतीले समसामयिक कविता वाचन गरेका थिए ।
अतिथि सुजिता शाक्यले शुभकामना दिँदै आफ्नो विद्यार्थी जीवनमै यो संस्थामा जोडिएर सांस्कृतिक चेतनासहितको ऊर्जा प्राप्त गरेको, संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको वर्तमानमा संस्कृतिकर्मीको विशेष भूमिका रहेको, चेतना सम्प्रेषण गर्ने प्रखर माध्यम कला, साहित्य तथा संस्कृति भएको हुँदा युवापुस्तालाई पनि यो अभियानमा जोड्दै क्रमशः आत्मनिर्भर हुँदै गरेको यस महासङ्घले भावी दिनमा थप व्यवस्थित र योजनाबद्धढङ्गले कार्यसम्पादन गर्नु आवश्यक रहेको बताएकी थिईन् ।
समारोहमा भरत नेपाली र सूर्य मगरले सारङ्गीको धुन सुनाएका थिए ।
अतिथि हेमराज राईले महासङ्घले ३८ वर्षको गौरवमय यात्रा तय गरिसकेको बताए । उनले परिवर्तनलाई सम्बोधन गर्ने नयाँ सशक्त गीत नआएका, युवापुस्ता नसमेटिएको अर्थात् युवापुस्ता विचारविहीन हुँदै गएको गुनासा राखेका थिए ।
समारोहका अध्यक्ष अशोककुमार राईले अग्रजको योगदानले स्थापित महासङ्घले झण्डै चार दशकको यात्रा तय गरेको बताए । यो आफैँमा सङ्गठित र सशक्त संस्था भएर पनि यसलाई परिचालित गर्ने सांस्कृतिक नीतिको भने अभाव रहेको बताए ।
उनले भने, ‘पार्टीका समारोहमा हाम्रा गीत नबज्ने वा सार्थक गीतले स्थान नपाउने अवस्था अहिले पनि रहेको हुँदा सिद्धान्त र व्यवहारका बिच तालमेल गर्नुपर्ने, साङ्गठनिक समन्वय गरिनुपर्ने आवश्यकता अझै रहेको छ।’
यस्तै, समारोहमा शुभकाना दिँदै बुढानलिकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले यो महासङ्घ आफ्नो सिर्जनशीलतासहितको परिचय गराउने र आफूलाई स्थापित गराउने संस्था रहेको बताईन्। ‘हरेक स्रष्टाको व्यक्तित्व विकास मात्र होइन, उसको चौतर्फी वा बहुआयामिक व्यक्तित्व निर्माण गराउने पनि संस्था हो’, उनले भनिन् ।
उपस्थित सम्पूर्ण व्यक्तित्वलाई महासङ्घकी उपाध्यक्ष नमुना शर्माले स्वागत गर्दै महासङ्घले आफ्ना ३८ वर्षका यात्रामा सामाजिक रूपान्तरण अभियानमा महत्त्वपूर्ण योगदान गरेको बताइन् ।