April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

वेष्ट इण्डिजको नेपाललाई ३४० रनको लक्ष्य

1.8K

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजबाट नेपालले ३४० रनको लक्ष्य पाएको छ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो ।

नेपालले सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई आउट गर्न सफल भएको थियो । नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्न पाएनन् ।

Advertisement

यसअघि १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।
त्यसपछि भने नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे । ४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटर निकोलस पुरनलाई कट एण्ड बोल्ड गरे । वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलसले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे ।

४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए भने ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए ।

खेलका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।