काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७-० गोल अन्तरले हराउँदै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा फराकिलो जित निकालेको सिटीले समग्रमा ८-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले ५ गोल गरे । इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक एक गोल थपे । हालाण्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।
हालाण्डले २२ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता २-० को बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटी ३-० ले अघि रह्यो ।
खेलको ४९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए । ५३ औं मिनेटमा हालाण्डले व्यक्तिगत चौंथो गोल गर्दा सिटी ५-० ले अघि रह्यो ।
खेलको ५७ औं मिनेटमा हालाण्डले व्यक्तिगत पाँचौं गोल गरेपछि सिटी ६-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले गोल गर्दा सिटी ७-० ले विजयी भयो । यस खेलमा पाँच गोल गरेसँगै हालाण्ड युरोपको एलिट क्लब प्रतियोगितामा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छो खेलाडी बने ।
२२ वर्षीय हालाण्ड च्याम्पियन्स लिगको एउटै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बने ।
यस्तै उनी अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका लुइज एड्रियानोपछि च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने तेस्रो खेलाडी बने ।