काठमाडौं । पूर्वको तमोर र काबेली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको अनुरोध गरेकोे छ । पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै पाँचथर र ताप्लेजुङ्गको विचबाट बग्ने काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । पूर्वी नेपालका नदी तथा खोलामा बाहव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ ।
सो क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ । उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।
प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । राति परेको अविरल बर्षाले ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोले बगाउँदा २ जना बेपत्ता भएका छन् । वर्षासँगै राति साढे ८ बजे झरेको पहिरोले तुलसा अधिकारी र यशोदा अधिकारीलाई बगाएको बताइएको छ ।
नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । मसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।