April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

१६ दिने अभियानकै बीचमा महिला हिंसाविरुद्धका ३९ घटना

4.8K

काठमाडौं- कात्तिक २६ गते राती रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहाकी एक १७ वर्षीया किशोरीको आफ्नै आमाबाबुले गोली हानी हत्या गरे। छोरीको हत्या गरेको अभियोगमा जन्म दिने बाबुआमासहित ६ जनालाई पक्राउ गरी मंसिर १४ गते सार्वजनिक भएपछि यो घटना भएको खुल्न आएको हो। 

माइतीघरमा सुतिरहेको बेला दायाँ कन्चटमा गोली प्रहार गरी उनको हत्या भएको थियो। गोली लागेर ती किशोरीको घटनास्थलमै मृत्यु भएको थियो।

आमा सीतादेवी साह राती शौचालयतर्फ गएको बेलामा अपरिचित व्यक्ति घरमा पसी अमृताको टाउकोमा गोली प्रहार गरेका थिए। गोलीको आवाज सुनेर शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको मृतककी आमाले प्रहरीमा बयान दिएकी थिइन्। तर प्रहरीको अनुसन्धानले बाबुआमाकै मिलेमतोमा किशोरी छोरीको हत्या भएको खुल्न आएको छ। 

Advertisement

स्थानीय ३० वर्षीय थारू भन्ने सोसिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबाबमा ०७६ फागुनमा सर्लाहीस्थित विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भएको थियो। तर रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछि मृतक अमृताकुमारी साह माइतीघर आएकी थिइन्। 

२०७७ साल असारमा रुपेश साह र अमृताकुमारी साहबीच सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेद भएपछि पति रुपेश पक्षबाट अमृताकुमारी साह र सोसिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो। अमृताकुमारी र सोसिन्द्रबिचको प्रेम सम्बन्ध बाबुआमालाई स्वीकार्य नभएको भन्दै उक्त मुद्दामा छोरी गिरफ्तार भएमा इज्जत जाने डरका कारण ५५ वर्षीय बुबा रामअयोध्या साह र देवाही गोनाही नपा–२ करुनिया लक्ष्मीनियाका मृतकका भिनाजु लक्ष्मण साहले परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साहलाई १ लाख ५० हजार रुपियाँ दिएर भारतमा लगी मार्ने योजना बनाएको खुल्न आएको प्रहरी अनुसन्धानले देखाएको छ।

ज्यान मार्ने योजना अनुरुप ०७७ कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारतमा लगेर मार्ने योजना असफल भएपछि ०७७ कात्तिक २६ गते मृतकका बुबा रामअयोध्या साह र भिनाजु लक्ष्मण साहले इज्जतका लागि पुनः अर्को योजना अनुरुप गोली हानी हत्या गर्न लगाएको खुलेको थियो।  

घटनामा संलग्न रहेको आरोपमा मृतक अमृताको बुबा ५५ वर्षीय रामअयोध्या, आमा ५० वर्षीय सितादेवी साह, देवाही गोनाही नपा–२ का ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय इसलाम अन्सारी, सोही ठाउँका शेख इम्ताज, परोहा नपा–४ का ४६ वर्षीय छोटेलालसहित ६ जनालाई जिल्ला अदालत रौतहटबाट ज्यानसम्बन्धी कुसुरमा मङ्सिर १४ गते सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको छ। 

०७७ जेठ २३ गते १८ वर्षीया किशोरीलाई बेलुका पानी भर्न गएको समयमा बैतडीमा सिगास गाउँपालिका–२ का २२ वर्षीया युवक दिपक धामीले बलात्कार गरेको घटना एक तोला सुनमा मिलापत्र गराएको रहस्य प्रहरी कार्यालयमा उजुरी भएपछि खुलेको थियो। मिलापत्र गरिएको कागजमा उल्लेख गरिएको सुन नदिएर पीडितका दाइलाई कुटपिट गरेपछि उक्त घटना र मिलापत्र भएको कुरा सार्वजनिक भएको थियो। 

पीडित युवतीका आफन्त र गाउँले मिलेर उक्त घटना ०७७ असार १४ गते आरोपितले एक तोला सुन दिने शर्तमा कागज गरी मिलापत्र गरिएको पीडित युवतीले बताएकी थिइन्। मिलापत्र गरिएको कागजमा पीडित र आरोपितबिच झैझगडा भएको उल्लेख गरिएको छ। परिवार र गाउँलेहरूको दबाबमा मिलापत्र भएको भन्दै उक्त घटनाकी पीडित युवती अहिले न्यायको खोजीमा सदरमुकाम आइपुगेकी छन्। १८ वर्षीया महिलालाई बलात्कार गरेको घटना गाउँमै मिलाएको आरोपमा प्रहरीमा उजुरी परेपछि ६ जनालाई मङ्सिर १३ गते गिरफ्तार गरेको थियो। 

बैतडीको सिगास गाउँपालिकाका–३ का वडा अध्यक्ष ४८ वर्षीय शेरसिंह साउद, सोही ठाउँका ३६ वर्षीय राजेन्द्र धामी, २९ वर्षीय नरेन्द्र धामी र ३१ वर्षीय गोपाल धामीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले बताए। यसअघि मङ्सिर १२ गते सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँकै ४० वर्षीय मनोज सिंह धामी र ४० वर्षीय अमर धामीलाई गिरफ्तार गरेको थियो। बलात्कारको घटनाका मुख्य आरोपित २२ वर्षीय दीपकसिंह धामी भने ‘फरार’ भएपछि प्रहरीले खोजी जारी राखेको छ। 

महिला हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै मात्र पूरा भएको छ। तर यही अवधिमा पनि महिला हिंसाका कुकृत्य भइरहेका छन्। १६ दिने अभियान अवधिमा सार्वजनिक भएका केही घटना मानवीय अपराधका विध्रूप उदाहरण हुन्। १६ दिने महिला हिंसाविरुद्धको अभियानकै क्रममा २ महिलाको हत्या भएको सार्वजनिक भएको हो। 

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ नामको नारासहित सरकार र गैरसरकारी संस्थालगायतले भव्य रुपमा महिला हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी संचालन भएको बताएका छन्। ०५४ सालबाट नेपालमा हरेक वर्ष मनाउँदै आइएको यो अभियानको मुख्य उद्देश्य भनेकै लिङ्गका आधारमा हुने हिंसाको न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्नु नै हो। तर तथ्याक हेर्ने हो भने यो झन् बढेको सरकारी पक्षकै तथ्यांकले देखाएको छ। 

सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १० देखि २५ गतेसम्म) सम्म विविध कार्यक्रमहरूको आयोजना गरी अभियान सञ्चालन गर्दै आएको छ। 

यो अवधिमा महिला हिंसाका ३९ घटना भएका भएका छन्। २४ जना महिला बलात्कार भएको छ भने धेरै बालिका यसको शिकार भएका छन्। १६ दिनमा १४ जना त बालिका मात्र बलात्कार भएका छन्। १६ दिने अभियानकै क्रममा २ जना महिलाको हत्या भएको छ। यो अवधिमा २५ जना बालिका महिला हिंसाको चपेटामा परेका छन्। 

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ। महिलामाथि हुने घरेलु हिंसा (नियन्त्रण र कसुर)सजाय ऐन २०६६ जारी भई लागू भएपछि यस्तो अभियान सरकारी र गैरसरकारी संस्थाले संचालन गर्दै आएका छन्। तर लिङ्गका आधारमा हुने हिंसा र हत्याका घटनामा वृद्धि हुँदै आएको विभिन्न तथ्याङले देखाएका छन्।

महिला तथा यौनिक अल्पसङ्ख्यकविरूद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारको अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुन कार्यान्वयनको अवस्था कमजोर रहिरहेको मानव अधिकारकर्मीहरुको तर्क छ।nepallive