काठमाडौं– रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरिएको छ।
बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारे अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गर्दा उक्त नतिजा आएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख छ।
दोस्रो खोप लगाएको १४ दिनपछि खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ।
खोप लगाएका कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र ख गम्भीर बिरामी पनि नभएको उनीहरूको दावी छ।
बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन्।
स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ।
सवै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको बहराइनका सरकारी अधिकारीले बताएका छन्।