April 30, 2024, Tuesday
२०८१ बैशाख १९
1:37:26 pm

माओवादी केन्द्रबाट निष्कासित तीन नेताको रिट सर्वोच्चद्वारा खारेज

1.5K

जनकपुरधाम : नेकपा माओवादी केन्द्रबाट निष्कासित तीन नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ।  अर्को पार्टीमा लागेको आरोपमा प्रदेश २ का तीन सांसदलाई साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो। 

पार्टीको कारबाहीपश्चात पद गुमाएका प्रदेश सांसदहरू कुन्दन प्रसाद कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समीरको रिट निवेदन अदालतले खारेज गरिदिएको हो। 

तीनै जनाले सांसद पद जोगाउन नेकपा एमालेमा गएर पनि माओवादी केन्द्रमै रहेको दाबी गरी जेठ १३ गते सर्वोच्च अदालतमा रिट दिएका थिए।

Advertisement

तीनै जनाले दायर गरेको रिटमा अदालतले सूचना टाँस गरी रिटअनुसार अन्तरिम आदेश जारी नहुने जनाउँदै रिट खारेज गरिदिएको नेकपा माओवादी केन्द्र धनुषाका सचिव दीपक यादवले जानकारी दिए।

सर्वोच्च अदालतका न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासबाट अन्तरिम आदेश नदिए पनि १५ दिनभित्र विपक्षीहरूलाई लिखित जवाफ पेस गर्न भनी आदेश दिएको छ।

अदालतले विपक्षीहरू प्रदेशसभा सचिवालय, निर्वाचन आयोग, नेकपा माओवादी केन्द्र र माओवादी केन्द्र संसदीय दल प्रदेशलाई लिखित जवाफ बुझाउन आदेश दिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।