काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सचिव तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले राष्ट्रको गौरव बढाउन मद्दत गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादी निकट खेलकुद महासंघ समाजवादी वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले खेल र खेलाडी राष्ट्रका गौरव भएको पनि बताए ।
उनले खेलकुद क्षेत्रका यस्ता संस्थाहरूले समग्र खेलकुद क्षेत्रको विकासको लागि नीति निर्माणमा पहल कदमी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, पार्टीका केन्द्रीय सदस्य तथा खेलकुद महासंघ समाजवादीका अध्यक्ष केशव विष्ट लगायतका नेताहरूले शुभकामना व्यक्त गरेका थिए । खेलकुद महासंघ समाजवादी वाग्मती प्रदेश अध्यक्ष उत्तम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको खेलकुद महासंघ समाजवादीका सचिव अर्जुन राईले बताए ।