May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

काठमाडौंका सम्पदा क्षेत्र घुम्न सिटी बस सञ्चालन हुने

1.1K

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सार्नुभएको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्बीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको हो ।

पहिलो चरणमा साझा यातायातका पाँच वटा बिजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौँ दरबार, पशुपति, बौद्ध र स्वयम्भु पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ । पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् । करिब ३० किलोमिटर लामो पुरा यात्रा गर्न तीन घण्टा लाग्नेछ । आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए ।

Advertisement

मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्चालनबारे सरोकारवालाहरूसँग मन्त्रालयमा छलफल समेत गरेका थिए । छलफलमा साझा यातायातका सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो ।

मन्त्री श्रेष्ठले काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएका हुन् । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ ।

काठमाडौँका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।