ललितपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुर ३(ख)बाट लोकप्रिय युवा नेता सानुबाबु महर्जन प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
महर्जनसहित प्रमोद शर्मा, शिवराम बानियाँ, रमेश रिजाल, राजीब पौडेल, महान अर्याललगायतको नाम मनोनयनमा परेको छ । त्यस्तै प्रतिनिधि सभातर्फ जितजंग बस्नेत, मदन अमात्यलगायतले मनोनयन दर्ता गराएका छन् ।
पाटन संयुक्त क्याम्पसमा २०५५ सालमै स्ववियू सह–सचिब भइसकेका महर्जन नेविसंघको ललितपुर सभापति भइसकेका छन् । नेविसंघकै केन्द्रीय सदस्य हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका उनी दोस्रो जन आन्दोलनमा जिल्ला कमाण्डरको भूमिकामा थिए । ललितपुरमा पार्टीको सक्रिय भूमिका देखिने गरेका उनी समाजसेवामा पनि उत्तिकै क्रियाशील छन् । हाल कांग्रेस ललितपुर जिल्ला कार्य समिति सदस्य रहेका महर्जन युवाहरुको रोजाइमा पर्ने गरेका छन् ।
‘सबै उमेर समूहका ललितपुरबासीका लागि मेरो नाम र भूमिका नौलो होइन । निरन्तर क्रियाशील छु । यस पटक पार्टीले न्याय गर्नेछ र निर्वाचन क्षेत्रका मतदाताले विजयी गराउनुहुनेछ,’उनले दावाका साथ भने,‘पार्टीप्रति इमान्दार छु । जनताप्रति वफादार र जिम्मेवार भएर भूमिका निर्वाह गर्नेछु ।’