बज्र कुमार राई
हङकङ । नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA) को आयोजनामा यहाँस्थित टाइमोसन कन्ट्री पार्कमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको सहभागिता रहेको प्रतियोगितामा ५० किलोमिटर र १२ किलोमिटर गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो ।
५० किलोमिटर पुरुषतर्फ हङकङ, चिनका हङ ताम च्याम्पियन हुन सफल भए । त्यसैगरी दोस्रो सन्तोष तामाङ (नेपाल) र तेस्रो स्थानमा तमी युङ (बेलायत) रहे । महिलातर्फ हङ क्यु ल्योङ (बेलायत) प्रथम, पाक ई मङ (हङकङ,चिन) दोस्रो र जुलीयामित लेप्चा (भारत) तेस्रो हुन सफल भइन्।

त्यस्तै १२ किलोमिटर पुरुषतर्फ म्याथ्थु क्यारी (बेलायत) प्रथम, यू जेस्पर याम (हङकङ) दोस्रो र जर्म डी क्यालेरन्स (फ्रान्स) तेस्रो भए । महिलातर्फ सीउ साङ सान लाउ (हङकङ, चीन) प्रथम, इलाने एप्सटोल (फिलिपिन्स) दोस्रो र जेसी याहु (हङकङ) तेस्रो स्थानमा रहे ।
विजयी धावकहरूलाई नगद, ट्रफी र फिनिसर मेडल प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न उमेर समूह र महिला समूहका पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूलाई समेत ट्रफीले सम्मान गरिएको थियो । सबै प्रतियोगी धावकहरूलाई ब्लू माउन्टेनको एचके डलर १०० को सपिङ कुपन, दौड टिसर्ट, खाजा, फलफूल, हल्का पेय पदार्थ र खानाको व्यवस्था गरिएको थियो । हङकङ तथा विदेशी धावकहरूले आयोजकको व्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले हर्न बजाएर गरेका थिए । उक्त अवसरमा उनले हङकङमा नेपाली समुदायबाट अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता हुनु र मासिक पदमार्ग सरसफाइ गर्दै आएको संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा किरात याकथुङ चुम्लुङ् केलाङ समूहबाट आफ्नो भाषिक पहिरनमा लिम्बु नृत्य, तामाङ घेदुङबाट पनि आफ्नै जातीय पहिरनमा सेलो नृत्य तथा अरूणा शर्माको एकल नृत्य प्रस्तुत गरिएको थियो ।
आयोजक संस्था (HKNUTRA)ले विगत दुई वर्षदेखि वातावरण संरक्षण र खेलकुदलाई केन्द्रित गर्दै मासिक पदयात्रा सरसफाइ तथा बालबालिकालाई निःशुल्क दौड तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

दौड कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त आम्बुहाङ लिम्बू र चिनियाँ के लिमले गरेका थिए । संस्थाका अध्यक्ष बेदराज लिम्बुले सहभागी धावक/धाविका, सहयोगी व्यक्ति तथा संस्थाहरूप्रति विशेष धन्यवाद ज्ञापन गरे । यस प्रतियोगिता बारे आयोजक संस्था एचके.नुट्राका सल्लाहकार तथा धावक राजकुमार राईले यस्ता प्रतियोगिताले मानिसको स्वास्थ्यमा प्रत्यक्ष लाभ हुनुकासाथै नेपाल र नेपालीको प्रतिष्ठालाई विश्वभर फैलाउन मद्दत गर्ने बताए । उनले नेपाली कला–संस्कृति र भेषभूषालाई पनि विश्वमा चिनाउन टेवा पुर्याउने बताए ।