बज्रकुमार राई
हङकङ । किराती सांस्कृतिक चलचित्र ‘नाक्छोङ’ (Nakchhong) हङकङमा प्रदर्शन गरिने भएको छ । यो चलचित्र आगामी ५ अप्रिल २०२६ (आइतबार)को दिउँसो ३ देखि ५ बजेसम्म जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड बारमा प्रदर्शन गरिनेछ ।
प्रदर्शन कार्यक्रमको प्रमुख आयोजक किरात राई यायोक्खा हङकङ रहेको छ भने सहआयोजक संस्थाहरूमा चाम्लिङ, बान्तावा, साम्पाङ, पुमा,दुमी,थुलुङ, कोयू÷कोयी र बायुङ, राई भाषिक संस्थाहरू रहेका छन् । आयोजकहरूले सम्पूर्ण हङकङवासी नेपालीहरूलाई उक्त चलचित्र हेरिदिएर सांस्कृतिक चलचित्रको सन्दर्भबारे जानकारी लिन र आफ्नो संस्कृतिप्रतिको धारणा साट्न हार्दिक निमन्त्रणा गरेका छन् ।

चलचित्र ‘नाक्छोङ’ ले वर्तमान परिस्थितिमा सांस्कृतिक रूपमा विचलित हुँदै गएको किराती युवापुस्ताको कथा प्रस्तुत गर्दै किराती समुदायमा नाक्छोङको महत्व र यसको अभावले पार्ने प्रभावबारे सचेतना जगाउने प्रयास गरेको छ । यो चलचित्र केवल किराती समुदायका लागि मात्र नभई सबै नेपाली दर्शकले हेर्नै पर्ने सार्थक कथाको रूपमा रहेको आयोजकहरूले बताएका छन् ।
यस चलचित्र प्रदर्शनका संयोजक राम ली थुलुङका अनुसार वर्तमान परिस्थितिमा अत्यन्त सान्दर्भिक यस चलचित्र प्रदर्शनबाट प्राप्त मुनाफा किराती युवा पुस्तामा सांस्कृतिक चेतना जागृत गराउनको निमित्त लगानी गरिनेछ ।