प्रदेश एकको नाम ’कोशी’ खारेज गरेर पहिचानका आधारमा राख्नुपर्ने माग
२४ मार्च, बेलबारी(मोरङ) । ‘कोशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङको तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हो ।
मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः नामाङ्कन संयुक्त संघर्ष समिति मोरङले आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरूले प्रदेश एकलाई पहिचानका आधारमा पुनःनामाङ्कन गर्नुपर्ने कुरामा जोड दिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले लाजेहाङको सहादतले सबैलाई उर्जा दिइरहेको भन्दै प्रदेश एक पुनःनामाङ्कन आन्दोलनले सबैलाई एक ठाउँमा ल्याएको दाबी गरे ।
यसैगरी, उज्यालो नेपाल पार्टीका सङ्घीय सदस्य केदार धिमालले सदन र सडक दुवैबाट पहिचानको आन्दोलन अघि बढाउनुपर्ने बताए । त्यस्तै, किराया उपाध्यक्ष तिलक प्रसाद राईले पहिचानको आन्दोलनको समीक्षा गरेर घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै, कियाचु महासचिव निरन्ती तुम्बापोले सहिद र घाइतेको सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउँदै आगामी निर्वाचनहरूलाई प्रयोग गर्नुपर्ने जनाइन् । किराया महासचिव अर्जुन जुम्नेली राईले प्रतिनिधिसभाको मतपरिणाम र संरचना हेर्दा पहिचानको आन्दोलन जीवित रहेको तर्क राखे ।
सभामा सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव दिलु लिङ्देन लाओती, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य नयनहाङ लिम्बु लगायतले धारणा राखेका थिए ।
कियाचु मोरङ अध्यक्ष डिल्ली लिङ्दमको अध्यक्षतामा भएको सभालाई सहिद लाजेहाङ स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेको थियोे ।
कार्यक्रममा कियाचु उपाध्यक्ष डा. कमल तिगेला, जसपा केस नन्द याम्फू, सहिद लाजेहाङकी जीवनसंगिनी दिलु लिम्बु लगायतको उपस्थिति रहेको थियोे ।
किरात राई यायोक्खा मोरङ अध्यक्ष केदार राईले स्वागत मन्तव्य राखेको कार्यक्रम मिक्सन मिभक लिम्बुले सञ्चालन गरेका थिए । सभाअगाडि बेलबारी नपा–३ मा रहेको लाजेहाङको समाधिस्थलमा माल्यार्पण गरिएको थियो । साथै, उनको सम्मानमा एक मिनेट मौनधारण कार्यक्रम गरिएको थियोे ।

०७९ फागुन १७ गते एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा नेपालका ८२ सांसदहरूले ‘कोशी’ को पक्षमा मतदान गरे । नेकपा समाजवादी एकीकृतका चार सांसदहरूले ‘किरात लिम्बुवान सगरमाथा’ को पक्षमा मतदान गरे । ‘कोशी’ नामकरण विरुद्ध नाम खारेजीको माग राखी आन्दोलन उठ्यो । चैत ५ गतेको विराटनगरको प्रदर्शनमा घाइते भएका लिम्बुवान भोलेन्टियर्सका उपकमान्डर पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’को चैत १० गते उपचारका क्रममा ४२ वर्षको उमेरमा देहान्त भएको थियोे । त्यसपछि आन्दोलन चर्किएपछि उनलाई मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सहिद घोषणा गरेको थियोे । आन्दोलनमा सयौँ घाइते भएका थिए । केही अझै जेलजीवन बिताइरहेका छन् ।
