अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रीमा श्रेष्ठले गायक प्रमोद खरेलको स्वरमा ‘याद’ सार्वजनिक गरेकी छिन् ।
संगीत रविन्द्र पौडेलले दिएको यस गीतको म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेत रहेका छन् ।
म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएीक रीमाले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गरेकी छिन् । पेशाले आइटी इन्जिनियर भए पनि लेखन र कलालाई कहिल्यै नछोडेकी उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी छिन्।
नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी उनको गीत अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतले गाइसकेका छन् ।

विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन्। नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ।
“याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ।