काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ ।
सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द«को वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गरिन । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनको भनाई थियो ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गरे । संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
संघका उपाध्यक्ष आर के शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै महावीर पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त भएको बताए ।
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाई थियो ।