काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ।सत्तारूढ दलनिकट नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ‘राज्य आतंकविरूद्ध’ भन्दै शुक्रबार मार्चपास गरेको हो।
नेविसंघले केन्द्रीय समितिको आह्वानमा मार्चपास भएको । मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ गएको हो। उनीहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै प्रर्दशन गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) सँग पनि गठबन्धनको प्रस्ताव ल्याएपछि त्यसको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।
भष्टाचार लगायतका घटनालाई सरकारले सामसुम पार्ने प्रयास गरेपछि आफूहरुले प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।
‘राजनीतिमुक्त विश्वविद्यालय, भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकार हाम्रो सरोकार’,युवालाई छातीमा गोली होइन रोजगार दे! ’ ‘काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !’ लेखिएका ब्यानरसहित नेविसंघले प्रदर्शन गरेको हो ।