April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे: शंकर पोखरेल

3.8K

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको पोखरेलले बताएका हुन् ।

महासचिव पोखरेलले बुधबार सामाजिक संजालमार्फत साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठगाँठ गरेको आरोप समेत लगाए । ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ ।’, पोखरेलले लेखेका छन् ।

एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको हो । जसपासँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Advertisement

रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए ।