गोरखा — गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा भीषण पहिरो जाँदा दुई वटा घर बगाएको छ । बुधबार साँझ ५ बजेतिर स्याम्चेतमाथिको डाडाँबाट खसेको पहिरोले यहाँका दुई वटा घर बगाएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
पहिरो बस्तीबीचबाट बगेपछि स्याम्चेतका तल्लो र माथिल्लो गाउँका स्थानीयहरू घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । मानवीय क्षति नभए पनि बुधबार राति स्थानीय घरमा सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरू बताउँछन् ।
गाउँपालिका अध्यक्ष गुरुङसहितको टोली अहिले पहिरोस्थल तर्फ त्रिपाल, चाउचाउ लगायत सामग्री बोकेर जाँदै छ । स्थानीय नन्दमाया लामाका अनुसार पहिराले के कति क्षति गर्यो भन्ने यकिन हुन सकेको छैन । ‘केही बेरअघि पहिरो झरेको हो, उज्यालै भएकाले गाउँले सबै घर छाडेर ज्यान जोगायौं,’ उनले भनिन्, ‘मान्छेले आफ्नै ज्यान जोगाउन धौधौ परेको छ, बस्तीतर्फ जान सक्ने अवस्था छैन ।’
यस क्रममा केही पशु चौपाया पहिरोले च्यापिएर मरेको लामाको भनाइ छ । पहिरोमा फसेका २० जनाको भने उद्धार गरेको स्थानीय शिशिर लामाले बताए ।
‘बुल्जुङ डाँडाबाट झरेको पहिरो स्याम्चेत तल्लो र माथिल्लो टोलको दायाँ बायाँबाट बगेर बस्ती बीचमा पर्यो,’ उनले भने, ‘पहिरोको बीचमा ६ घर परेको छ ।’
पहिरो बीचमा परेका २० जना स्थानीयको सुरक्षित उद्धार गरिएको उनले बताए । पहिरो बस्ती बीचमा परेपछि २५ परिवारलाई सुरक्षित स्थानमा सारिएको शिशिरले बताए । बुल्जुम डाँडाबाट डोन्डरे खोलासम्म झण्डै एक किलोमिटर दूरीमा पहिरो बगेको लामाले जानकारी दिए ।
‘पहिरोको सय मिटर नजिक घर भएका सबैलाई सुरक्षित ठाउँमा सारेर राखेका छौँ,’ उनले भने । स्याम्चेत बस्तीमाथिको बुल्जुङ डाँडाको कुलोमा तटबन्धन गरेको ग्याविन बगाएर पहिरो बगेको उनले बताए । घटनास्थलतर्फ मान्वु प्रहरी चौकीबाट प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यलय गोरखाका एसपी केदार खनालले बताए ।