April 28, 2024, Sunday
२०८१ बैशाख १६
1:37:26 pm

त्रिभुवन विमानस्थलबाट ३ किलाेभन्दा बढी सुनका गहनासहित २ जना पक्राउ

3.5K

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा दुई करोड बढीका सुनका गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनालाई तीन किलो तीन सय ३० ग्राम सुनका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई सुनसहित पक्राउ गरिएको जानकारी दिए।

Advertisement

उनीहरूको झोला एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको बास्तोलाले बताए। बास्तोलाका अनुसार उक्त सुन दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको रहेको छ।

‘सुन व्यापारिक प्रयोजनका लागि खरिद गरेर लगिएको उनीहरूले बताएपनि कानुनसम्मत् खरिद गरेको आवश्यक प्रमाण भेटिएन’ बास्तोलाले भने,‘प्रमाण नपुगेपछि पक्राउ गरिएको हो।’

बास्तोलाले सुनसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको बास्तोलाले जानकारी दिए। केही दिनअघि त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको बिमानबाट नेपालगञ्ज पुगेको चार किलो बढी सुन बाँके प्रहरीले पक्राउ गरेको थियो।