काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’देखि मन्त्रीहरु यस विषयमा गम्भिर हुने आफ्नो विश्वास रहेको बताए ।
नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको बैठकमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले सबै मिलेर वर्तमान संकटबाट मुलुकलाई बचाउनुपर्ने बताए । ‘उद्योग व्यवसायीहरु, बैंक वित्तियदेखि सबै क्षेत्र संकटमा छ । त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन ।’ उनले भने,‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन । अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौती छ । नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई उहाँले गम्भिरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’
त्यसैगरी पूर्वमन्त्री तथा महासंघका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने चुनौतीहरुमा आफ्नो साथ रहने बताए । पूर्वमन्त्री तथा महासंघका निर्वतमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति निर्माता, दलका नेताहरुलाई बुझाउनका सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताए ।
पूर्वगृहराज्य मन्त्री तथा महासंघका सल्लाहकार दीपक बास्कोटाले सहकारीले राम्रो राजश्व बुझाएका छन् संकटको समयमा राज्यले सहकारीलाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले केहि समयका लागि बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्था दर्ता रोकेर व्यवस्थापन गर्न समेत आग्रह गरे । उनले भने, ‘सहकारी अनुगमनको जिम्मेवार सहकारी विकास बोर्डलाई दिने र उसले महासंघसँगको सहकार्यमा अनुगमन गर्ने कार्य गर्नुपर्छ ।’
सल्लाहकार डा.उषा झा र सल्लाहकार रविन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनुपर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदरमा सन्दर्भ ब्याजदरको रुपमा रहेको क्यापिङ सिस्टम हटाउनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने, ऋण असुलीका लागि प्रभावकारी भूमिकाका लागि तत्काल राज्यबाट सहयोग चाहिने बताए ।
महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा संचालक खेम पाठक, संचालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरुलाई जानकारी गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको नीति, कार्यक्रम तथा गतिविधिहरुको विषयमा प्रस्तुती गरेका थिए ।