April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

1.6K

काठमाडौं । सरकारले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ । कारखाना पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन्। ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालनको सम्झौता गरेको अर्थ मन्त्रालयले जनाएको छ। ३ महिनाको अग्रिम सूचना दिएर भने २ पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने गरी सम्झौता भएको छ।

मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई नेपाल सरकार अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने भएको छ। राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्ने सहमति भएको छ ।

Advertisement

केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्री गर्ने समेत जिम्मा पाएको छ । बिक्री–वितरणबाट प्राप्त रकम कारखानाको सञ्चालन एवम् स्तरोन्नती गर्ने खर्च गरी प्रचलित कानुन बमोजिम करपछि रकममध्ये ५० प्रतिशत कोष खडा गरी बाँकी ५० प्रतिशत रकम वार्षिक रुपमा नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने शर्तमा उल्लेख छ ।