April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

चिनियाँ अधिकारीको नेपाल भ्रमणः चिनियाँ नाका खुल्ने, दशैंको मुखमा व्यापारीलाई राहत

1.8K

काठमाडौं । कोरोना भाइरसको कारण देखाउँदै अवरुद्ध हुँदै आएको चिनियाँ नाका खुल्ने भएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको चार दिने भ्रमणका क्रममा नाका खोल्ने विषयमा सकरात्मक देखिएका थिए ।

ली को नेपाल भ्रमणसँगै रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुँदैछ । चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिए ।

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ। साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल पठाइनेसमेत उल्लेख गरिएको पौडेलले जानकारी दिए ।

Advertisement

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । नेपाली पक्षले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आएको छ तर चीनियाँ पक्षले त्यसबारे कुनै प्रतिक्रिया नदिएको खनालले बताए । दुवै नाका विगत तीन वर्षदेखि बन्द थिए।

दशैंको मुखमा चिनियाँ पक्षले एकतर्फी रुपमा नाकाबन्दी गर्दा नेपाली व्यवसायी ठूलो मारमा पर्दै आएका छन् । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएका थिए । भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।